हाम्रो शरीरले कुनै पनि इन्फेक्सनविरुद्ध लड्दा प्रतिक्रिया आउँछ, जसले आफ्नै शरीरका अंगहरूलाई असर पार्ने गर्छ । यसक्रममा शरीरका विभिन्न अंग फेल हुने सम्भावना हुन्छ । साथै, यो प्रतिक्रियाले ल्याउने परिवर्तनले शरीरका विभिन्न अंगप्रणालीलाई आक्रमण गरी तिनलाई काम नलाग्ने तुल्याउन सक्छन्, जसलाई सेप्सिसको विकराल अवस्थाका रूपमा हेर्न सकिन्छ । यो जुनसुकै इन्फेक्सनले पनि हुन सक्छ । ब्याक्टेरिया, भाइरस, प्यारासाइट आदिले शरीरमा आक्रमण गरेपछि त्यसविरुद्ध लड्ने शरीरको प्रतिरोधात्मक शक्तिको विकास हुनेक्रममा आफ्नै शरीरका अंगलाई हानि पुग्ने अवस्था नै सेप्सिस हो ।
सेप्सिसले धनी, गरिब, सानो, ठूलो, धर्म, लिंग, उमेर भन्दैन, जोसुकैलाई पनि हुन सक्दछ । तर, विशेष रूपमा १ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धामा अलि बढी जोखिम हुन्छ । त्यसैगरी, रोगसँग लड्ने क्षमता कम भएका मानिस, लामो समयदेखि मिर्गौला तथा कलेजो संक्रमण भएका, मुटु, फोक्सो, दमका रोगीमा बढी संक्रमण हुने सम्भावना हुन्छ । सेप्सिसको सुरुवाती लक्षण केही न केही इन्फेक्सनबाट देखिने हुन्छ । शल्यक्रिया गरेका मानिसमा तथा अन्यमा पनि सामान्य रुवाखोकीदेखि लिएर अन्य किसिमका ज्वारो आउनेबाट लक्षण सुरु हुने गर्छ । त्यसपछि सेप्सिसमा गएको खण्डमा यसका लक्षणहरू बारम्बार झुक्किने, शरीर सिथित भएजस्तो हुने, रिँगटा लाग्ने, श्वासप्रश्वासको गति बढ्ने, पिसाब नआउनेजस्ता किसिमका संकेत देखिने गर्छन् ।
सरुवारोगहरूमा सबैभन्दा बढी मृत्यु हुने प्रमुख कारण नै सेप्सिस हो । विश्वमा ३ करोड मानिसलाई प्रत्येक वर्ष सेप्सिस हुने गरेको तथ्यांक छ । सेप्सिसबाट करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा सेप्सिसको अवस्था भयानक छ । आइसियूमै हेर्ने हो भने मृत्युको कारणमध्ये पहिलो नम्बरमै सेप्सिस पर्छ ।
शरीरका महत्त्वपूर्ण अंगहरू फेल हुँदै जाँदा जटिल अवस्था उत्पन्न हुन्छ । मुटु, फोक्सो, मिर्गौलाको संक्रमण, रक्तचाप घट्दै जानेजस्ता समस्या आइपर्छन् । यस्तो अवस्थामा सघन उपचारकक्षमा राखेर उपचार गरिन्छ । यो अवस्थाका झन्डै ३०–४० प्रतिशत बिरामी मात्र बाँच्ने गर्छ । आजकाल प्रविधि र उपचारपद्धतिको विकास भएपछि मृत्युदर घटाउन भने सकिएको छ । तर, अझै पनि विकराल अवस्थामै छ ।
उपचार र रोकथाम
सेप्सिसको पहिचान र उपचार जतिसक्दो चाँडो हुनु आवश्यक हुन्छ, किनभने उपचारमा गरिने प्रत्येक घण्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ र चाँडै गरिने उपचारबाट मृत्युदर घटाउन सकिन्छ । सेप्सिस भएको खण्डमा एन्टिबायोटिक, स्लाइन, अक्सिजन र कतिपय अवस्थामा कृत्रिम श्वासप्रश्वासको पनि आवश्यकता पर्दछ । त्यसैगरी, मिर्गौला खराब भएको खण्डमा डायलाइसिस, शरीरको कुनै भाग कुहिएको वा पिप जमेको खण्डमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
यसबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउनुका साथै सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बिरामीलाई छुँदा साबुन–पानीले हात धुने गर्नुपर्छ । त्यसैगरी, खोपको प्रयोग गर्नुपर्छ । बच्चालाई जन्मिनेबित्तिकैदेखि ११ वटा विभिन्न किसिमका भ्याक्सिन लगाइन्छ । ती, सबैको काम इन्फेक्सन रोक्ने नै हो । जोखिममा भएका व्यक्तिलाई खोप लगाउन सकिन्छ, जसबाट सेप्सिस हुनबाट केही हदसम्म बचाउन सकिन्छ । होस कम हुने, श्वास–प्रश्वासमा गाह्रो हुने, पेट दुख्ने, मुटुको चाल र काम गर्ने क्षमता कम हुने र शरीरको रगत जमाउने कोषिका (प्लेटलेट्स)को मात्रा कम हुने लक्षण देखिएमा समयमै अस्पताल गएर उपचार गरेको खण्डमा सेप्सिसमा सिभियर हुनबाट जोगिन सकिन्छ । सिप्सिस भइहालेको खण्डमा आइसियूमा भर्ना गरेर पनि धेरै मानिसलाई बचाउन सकिन्छ ।
कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै राम्रो हुन्छ । सामान्यतया सेप्सिसबाट बच्नका लागि बिरामीलाई छुनुअघि र पछि राम्रोसँग हात धुने, संक्रामक कुराहरू छोएपछि हात धुने गर्नुपर्छ । कुनै पनि संक्रमण भएको खण्डमा तुरुन्तै स्वास्थ्यसंस्थामा गएर चिकित्सकबाट सल्लाह लिने गर्नुपर्छ ।