चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले पहिलो पटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख र उपविजेता बनेको पोखराले रु १५ लाख प्राप्त गरेका छन् ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्ध शतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।
यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहम्मद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।
व्यक्तिगत विधातर्फको उपाधिमा पनि चितवनकै वर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिए । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरीले डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही रु ५१ हजार प्राप्त गरे ।