डा. चक्रराज पाण्डे धापासीस्थित ग्रान्डी अस्पतालको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएका छन्। उनी ग्रान्डी अस्पतालका संस्थापक मेडिकल निर्देशक हुन्। उनी अस्पतालको सञ्चालक समितिमा पनि थिए।
स्रोतका अनुसार डा. पाण्डेले कात्तिक ७ मा सम्पन्न साधारणसभाबाट सञ्चालक समिति सदस्य र मेडिकल निर्देशकका रुपमा औपचारिक रुपमा बिदा लिएका हुन्। डा. पाण्डेले ग्राण्डीको जिम्मेवारीबाट अलग भए सङ्गै लाजिम्पाटमा आफ्नो छुट्टै ‘अनामिवा क्लिनिक’ सुरु गरेका छन् ।
पछिल्लो समय उनको सञ्चालक समिति अध्यक्ष दीपक कुँवरसँग सम्बन्ध बिग्रिएको थियो। कुँवरकै सक्रियतामा केही वर्षअघि अस्पतालको व्यवस्थापन सम्हालेको भारतीय समूह ‘लसान्ते’ गत बैशाखबाट पुनः ग्राण्डीको व्यवस्थापन सम्हाल्न आइपुगेको थियो ।
गत बैशाखबाट ग्राण्डीको प्रमुख कार्यकारी अधिकृतमा भारतीय चिकित्सक डा. अशोक वर्द्धधनलाई ल्याइएको थियो भने सिओओमा भारतीय नागरिक अमृत खन्नालाई जिम्मेवारी दिइएको थियो । यस्तै, अस्पतालको प्रभावशाली कार्यकारी भूमिकामा भारतीय चिकित्सक डा. नोनिका गोयल आएकी थिइन् । यस्तै, डा. पाण्डेको मेडिकल निर्देशकको भूमिकालाई सेरमोनियल बनाएर डेपुटी निर्देशक डा. विनोद विजेक्छेलाई सक्रिय बनाइएको थियो ।
३२ रोपनीमा जग्गामा फैलिएको ग्राण्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन् । अस्पतालको भवन मात्र १५ तलाको रहेको छ। अस्पतालमा रुपज्योति र उपेन्द्र महतोको २५/२५ प्रतिशत शेयर रहेको छ। डा. पाण्डेसहित ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता छन्।