शोभा पाण्डेय/सिलवाल
फूलबारीमा फूल फुल्यो, तिहार पर्व आयो
दिदीबहिनी दाजुभाइको ,मनै हर्षित भयो ।
दाजुभाइलाई सप्तरङ्गी, टीका लगाउँदा
मखमलीको मालासँगै, आशीर्वाद दिँदा ।
दूबो झैँ मौलाउनू , सगर झैँ अटल हुनू
जीवनमा नदी जस्तै , सधैँ अघि बढ्नू ।
हारहरूलाई जित्नू सधैँ , पहिरिनू हार
संसारका सारा पीडा ,लगाउनू पार ।
उठ्दा अझै माथि पुग्नू , उच्च सोच राख्नू
आँखा चिम्ली सबको मन ,पढ्न सक्ने बन्नू ।
आफ्ना लागि सबै जिउँछन् ,सबका लागि जिउनू
भलो गर्दा कालकूट विष , प्यून परे पिउनू ।
दधिची र भीष्म जस्तो , त्यागी बन्नू तिमी
संसारमा आकाश जस्तै ,बनी छाउनू तिमी ।
दुःख जति दूर होऊन् , मनमा होओस् शान्ति
रिसराग,वैमनश्य ,नहोस् कत्ती भ्रान्ति ।
सूर्य जस्तै पिता बन्नू, लक्ष्मण जस्तै भाइ
श्रवण जस्तै छोरा बन्नू ,राम जस्तै दाइ ।
सबै पूरा होऊन् वन्धु , उम्दा तिम्रा कामना
तिहारको उपलक्षमा , अमित शुभकामना ! हार्दिक शुभकामना !