पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा १९ पदक सहित नेपाल बन्यो टिम च्याम्पियन

शनिबार, कार्तिक २३, २०७६

पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाली सिनियर टोली ८ स्वर्ण, ३ रजत र ८ कास्यपदक गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।

सिनियरमा सबै खेलाडीहरु १३औं सागको प्रशिक्षणमा रहेका खेलाडीहरु हुन् । कुमुतेतर्फ ४८ केजीमुनि कुसुम खड्का, ५५ केजी मुनि मनिषा चौधरी, ६० केजीमा राजीव पुडासैनी, ८४ केजीमा विप्लवलाल श्रेष्ठ र महिला एकल कातामा चञ्चला दनुवारले स्वर्णपदक जित्न सफल भइन् ।

महिला टिम कातामा सरु कार्की, संगिता मगरर निर्मला तामाङले तथा पुरुष टिम कातामा मन्डेकाजी श्रेष्ठ, महसुस मोक्तान र प्रविन मानन्धरले स्वर्ण हात पारे । महिला टिम कुमुतेतर्फ अनु अधिकारी, शनि तामाङ, एस्तर राई र रीता कार्कीले स्पर्ण जितिन्।पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन, नवीन रसाइली, दिवस श्रेष्ठ, लेखनाथ मैनाली, राज कुमार रसाइली र सुशील पौडेलल रजत जिते । कुमुते पुरुषतर्फ ५० केजीमा सोनाम लामा, ५५ केजीमा लक्ष्मण तामाङ, ६७ केजीमा नवी रसाइली, ७५ केजीमा गंगा कुसवार र ८४ केजीमा दिवस श्रेष्ठले कास्य पाए ।

महिला कुमुतेतर्फ ५० केजीमा अनु अधिकारी, ६१ केजीमा अनु गुरुङ, ६७ केजीमा सुनिता महर्जन र ७६ केजीमा अनुपमा मगरले कास्य जितिन् । पुरुष एकल कातामा मन्डेकाजीले कास्य पाए ।बंगलादेश कराते फेडेरेसनको आयोजनामा ढाकामा दुई दिनसम्म चलेको प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र भुटानको सहभागिता रहेको थियो ।

रासस


ताजा खबर