द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने ‘सेनाको चेली’ 

युद्धको मैदानमा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकु र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत् । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुन पुग्छ अकस्मात् । 

गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले राखी नै रहन्छन् ।  उनका अनेकन् प्रयास सफल हुँदैनन् । 

शान्ति सेनामा जाने तयारीसम्मै खुसी हुँदैन सिपाहीको मन । मनभरि अशान्ति बोकेर शान्ति खोज्न जानु पो कहाँ रु भाइलाई छटपटी हुन्छ । लगत्तै आएको भाइटिकामा दिदीको घर पुग्छन् भाइ तर दिदीले भाइटिका लगाइदिन्नन् । “अचानक भएको मुठभेडमा कर्तव्य निर्वाह मात्र गरेको थिएँ, सक्छेउ भने माफ देऊ”, त्यस दिनको घटना परिबन्दमा परेर भएको कुरा भाइले सुनाउँछन् र घरबाट निस्किन्छन् । “भाइ ”, अलि पर पुगेपछि भाइको कानमा दिदीको आवाज गुञ्जिन्छ । भाइ फरक्क पछि फर्किन्छन्, यत्तिकैमा कथा सकिन्छ । 

त्यसपछि के होला ? यही कौतुहल जगाएर सकिने लघु चलचित्र ‘सेनाको चेली’ द्वन्द्वको परिघटनालाई स्मरणमा ल्याइदिने एउटा प्रतिविम्ब हो । जसले नेपालको दश वर्षे सशस्त्र द्वन्द्व र त्यसले उत्पन्न गरेका सामाजिक घाउहरूलाई पुनः एकपटक सम्झाइदिन्छ । 

चलचित्रका शब्द र दृश्यमा जताततै भावना झल्किन्छ । सामाजिक बाध्यता, देशको परिवेशसँगै मानिसका सम्बन्ध र शान्तिका सन्देश छरपष्ट पाइन्छन् सेनाकी चेलीमा । यही कथावस्तु बोकेर लघु चलचित्र प्रतियोगितामा प्रवेश गरेको सेनाकी चेलीले मूल्याङ्कन समितिको ध्यान आकर्षण गर्न सक्यो । जसले यसपालि उत्कृष्ट लघु चलचित्र घोषित हुँदै नेपाली सेनाबाट रु दुई लाख पुरस्कार लिन सफल भयो । 

शान्तिका लागि दौडिरहेको एक कर्तव्यनिष्ठ सैनिक जवानको मनभित्रको अशान्तिलाई उधिन्ने लघु चलचित्र सेनाको चेलीमा जनयुद्धको कालखण्ड छुँदै अघि बढेको मर्मस्पर्शी कथावस्तु छ । कलाकार इँगिहोपो कोइँचले उक्त चलचित्रको लेखक, निर्देशक तथा निर्माण गर्नुभएको हो ।

चलचित्रमा सेना र विद्रोहीको अवस्थालाई समेत झल्काइएको छ । उहाँले आफ्ना हजुरबुबा ब्रिटिस लाहुरे, दाइहरु आर्मी भएकाले पनि सेनाको भावनामा चल्ने चित्रमा खेल्न मन लागेको सुनाउनुभयो । गतसाल उत्कृष्ट भएको चलचित्रमा मुख्य भूमिका निभाउनुभएका कोइँचले यसपालि लघु चलचित्र निर्माण गरेरै सफलता प्राप्त गर्नुभयो ।

सेनाका जवान घरबाट टाढा हुनुपरेको आफ्नै कथा हुन्छ होला भन्ने कल्पना उहाँमा जाग्यो । त्यसभित्र आफ्ना परिवार इष्टमित्रसँगको सम्बन्ध कति बिछोडिन पुग्छ । अझ दिदीभाइको सम्बन्धमा आघात पुग्दा के होला, यस्तै यस्तै कुरा मनभित्र छचल्किँदै जाँदा उक्त चलचित्रको कथा तयार भएको उहाँले सुनाउनुभयो । मुख्यतः दिदीभाइका भावनालाई उहाँले उन्नुभएको छ । 

मुलुकको कर्तव्यनिष्ठ व्यक्तिले कर्तव्य पालनाका सिलसिलामा के सम्म गर्नुपर्ने हुन्छ भन्ने सन्देश यो सानो चलचित्रले दिन खोजेको छ ।  

भाइले ल्याएको उपहारसमेत नलिने गरी दिदीभाइको सम्बन्धमा आएको दरार र सम्बन्ध विस्तारमा भाइले गरेको प्रयास मन छुनेका खालको छ । चलचित्रका केही दृश्य दर्शकको आँसु खसाउने खालको छ ।

“विगतको जनयुद्ध एउटा घटना हो, तर जुनसुकै बेला मानिस आफैँमा अशान्त हुन्छ नि त्यो कुरालाई शान्ति सेनाका माध्यमबाट शान्त बनाउने प्रयास गरेको छु”, चलचित्रको कथाबारे कोइँचले भन्नुभयो । 

कथामा सशस्त्र द्वन्द्व सकिन्छ, त्यसपछि विद्रोही योद्धामा के समस्या आउला, उसले पाउने दुःख के होला, दुःख समस्या मात्रै होइन त्यसले सुख पनि दिन सक्छ भनेर परिवर्तनको सन्देश समेत मिसिएको छ । विगतको सशस्त्र द्वन्द्वमा बाहिर नआए पनि यस्ता घटना नभएका होइन्न । अन्ततः द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने खालको चलचित्र बनेको छ ।

“मैले तीन घण्टाबीचमा सोचेको कथा हो”, उहाँले भन्नुभयो, “हरेक काम यती हतारमा भएको छ की सम्झनै सकिन्न ।” उहाँका अनुसार १५ दिन भित्रमा ‘स्क्रिप्ट’ तयार पारिएको हो । ‘टप टेन’मा छनोट भएपछि कलाकार टिम खोजेर उहाँले चार दिनमा छायाङ्कन सक्नुभएको सुनाउनुभयो ।

शान्ति सेनामा जाने तयारीका एक सिपाहीका माध्यमबाट घर शान्ति ठूलो कुरा हो भन्ने सन्देश छर्नुभएको छ । अरू देशमा शान्तिका लागि हिँड्न लागेको सेनाको जवानभित्र अशान्तिको भुङ्ग्रो छ, त्यसले मुटुमा हानिरहेको हुन्छ । खासमा त्यो परिबन्द र एक अर्कामा बुझाइमा आएको कमीले हो भन्ने कुरा कथाको अन्तिमतिरको दृश्यले बुझाउँछ ।

उहाँका अनुसार हरेक परिवारमा सम्बन्ध बिग्रिन्छ भने एक पटक कुरा गरेर कारण बुझाउन सक्नुपर्छ, एकपटक मात्रै संवाद भयो भने समस्या हल हुन्छ, तर समाजमा मानिस अरूको कुरा सुन्ने प्रवृत्ति र कुरा नबुझी व्यवहार गर्ने प्रवृत्ति जकडिएको छ, त्यसलाई चिर्न सक्नुपर्छ भनेर देखाउन खोजिएको छ । 

छोटो प्रयासमा बनेको लघु चलचित्र उत्कृष्ट भएर रु दुई लाख पुरस्कार पाउँदा उहाँमा खुसीको सीमा छैन । चलचित्रका मुख्य भूमिका दिदीको भूमिकामा कलाकार सङ्गीता थापा मगर र भाइको भूमिकामा किरण चाम्लिङ राईले जीवन्त अभिनय गर्नुभएको छ ।  -रासस


ताजा खबर