लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै भारतका प्रधानमन्त्री मोदीले भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्ने अवसर प्राप्त हुनु आफ्ना लागि अविस्मरणीय भएको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले नेपालमा आउँदा आफूलाई राजनीतिक भ्रमण भन्दा पनि छुट्टै आध्यात्मिक अनुभूति हुने बताउनुभयो ।
प्रधानमन्त्री मोदीले नेपाल र भारतबिच साझा आस्था, विश्वास र प्रेम भएकाले दुवै देश मिलेर संसारभर भगवान् बुद्धको सन्देश पुर्याई विश्वलाई शान्तिको दिशा दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री मोदीले हजारौँ वर्षदेखिको नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई जोगाउन नेपाल भारतले एक आपसमा काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुद्ध सबैको र सबैका लागि भएको भन्नुहुँदै प्रधानमन्त्री मोदीले बुद्ध मानवताको बोध, सोध, विचार, संस्कार, उपदेश तथा मानवताको ज्ञानको अनुभूति भएको बताउनुभयो ।
लुम्बिनीमा आफूले पठाएको बोधी वृक्ष भिक्षित भएकोमा खुसी लागेको भन्नुहुँदै प्रधानमन्त्री मोदीले आजै दुवै देशका प्रधानमन्त्रीले इन्डिया बुद्धिस्ट कल्चर र हेरिटेजको पनि शिलान्यास गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले बुद्धको सन्देशलाई विश्वभर पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै भारत लगायत विभिन्न देशका धार्मिक पर्यटकका लागि सहज हुने बताउनुभयो । -रासस