उच्च अदालत पाटनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नवजात शिशु रिहानको उपचारमा लापरवाही गरेको भन्दैं ३५ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
सोमबार २ वर्षपछि सन्जीवचन्द्र न्यौपानेले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतका न्यायाधीस सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन्।
२७ फागुन २०७६ मा सन्जीवले छोरा रिहानको उपचारमा संलग्न चिकित्सक, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र मेडिकल काउन्सिल विरुद्ध उच्च अदालत पाटनमा मुद्धा हालेका थिए ।
रिहानका बुवा सन्जीव र आमा एकता घिमिरे सुरुमा ग्राण्डीले रिहानको उपचार लापरवाही गरेको भन्दैं मेडिकल काउन्सिलमा पुगेका थिए । काउन्सिलले घटनामाथि अनुसन्धान गर्दै उपचारमा संलग्न चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । काउन्सिलको उक्त निर्णयपछि उनीहरु अदालत गएका थिए ।
१२ असारमा ०७५ मा एकताले ग्राण्डी अस्पतालमा शल्यक्रियाबाट रिहानलाई जन्म दिएकी थिइन् । जन्मने बितिकै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एनआईसीयुमा राखिएको थियो ।
उपचारकै क्रममा रिहानमा ब्याक्टेरियाको गम्भीर संक्रमण देखिएको थियो । अस्पतालले रिहानको टाउकोको ५ पटक शल्यक्रिया गरिएको थियो । यसक्रममा, उनलाई झण्डै १० महिना अस्पतालमा राखेर उपचार गरिएको थियो ।
तर, अन्तिममा रिहान निको नहुने थाहा पाएपछि सन्जीव र एकताले बच्चाको डिस्चार्ज लिएका थिए । त्यसपछि उनीहरुले ग्राण्डी विरुद्ध कानुनी लडाइ सुरु गरेका थिए ।