नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । करियर कूटनीतिज्ञ श्रीवास्तव शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आउनुभएको हो ।
काठमाडौँ आउनुअघि उहाँ नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नुभएको छ । साथै उहाँले वासिङटन, बेइजिङ, सङ्घाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको दुतावासले जनाएको छ । यस अघिका भारतीय राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको थियो ।