गठबन्धन र फेरि पनि गठबन्धन

~भिमप्रसाद अधिकारी

१. सारांश : प्रजातन्त्र उच्चतम राजनैतिक संस्कारयुक्त आदर्श, आस्था, विस्वास, मूल्य, मान्यतामा आधारित व्यवहार हो । प्रजातन्त्रलाई व्यवहारबाटै प्रमाणित गर्नुपर्छ । प्रजातन्त्रलाई व्यवहारमैं खोज्नुपर्छ । प्रजातन्त्र प्रणाली मात्र होइन । पद्धति पनि हो ।

नेपाल जहाँ प्रजातन्त्र संस्थागत भइसकको छैन र राजनैतिक दलहरु नै प्रजातान्त्रिक भइसकेका छैनन् । यसो भन्दा राजनैतिक दलहरुलाई दुख लाग्ला तर यो भन्नैपर्छ । कतिपय राजनैतिक दलहरुको राजनैतिक लाइनले प्रजातन्त्रलाई विस्वास गर्दैन । प्रजातन्त्र विधिको शासन हो । बहुमतको शासन मात्रै प्रजातन्त्र होइन । बहुमतले अन्याय गर्नसक्छ । जथाभावी बल प्रयोग गर्नसक्छ । तसर्थ बहुमतलाई नियन्त्रण गर्ने विधि हुनुपर्छ । प्रजातन्त्र त्यही विधि हो । हाम्रो राजनैतिक परिवर्तनको इतिहास त्यति लामो छैन । सात सालदेखि सुरु भएको राजनैतिकक सुधारको प्रक्रिया अझैसम्म जारी छ । संघीतासम्म आइपुग्दा राजनीति स्थिर हुने अपेक्षा आम रुपमा गरिएको थियो तर त्यो पूरा हुन सकेको छैन । संविधानसभाबाट नेपाली जनताको भावना अनुरुप संविधान पारित भएपछि पनि संविधान नमान्ने आवाज उठिरहेको छ । संघीयता देश विभाजनको माध्यम हुनसक्ने र नेपालले धान्नै नसक्ने तर्कहरु आइरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा दलविहीनताको अभ्यासको सुरुवात गरेको पनि देखियो । पञ्चायत कालमा केही सामान्य मान्छेलाई चुवनावमा उठाएर जिताउने अनि व्यवस्था माथि चुनौति दिने अभ्यास हुन्थ्यो त्यो यो व्यवस्थामा पनि हुन थालेको छ । व्यवस्थाको विकल्पमा विचारहरु आउन सूरु भएको छ । राजाको भूमिकको खोजि हुन सुरु भएको छ । हिन्दू राष्ट्रको माग बढेको छ । यसबाट वर्तमान व्यवस्था स्थिर भएर तङ्रिएको अनुभूति हुन सककेको छैन ।

संविधानमा गलत प्रावधानहरु छन् । निर्दलीय सोचहरु छन् । गलत निर्वाचन प्रक्रिया राखिएको छ । यो संविधान रहेसम्म कुनै एउटा राजनैतिक दलले कहिल्यै पनि सरकार गठनका लागि बहुमत हासिल गर्न सक्दैन । यो प्रावधानले दलहरुलाई बलियो हुन दिँदैन । सत्तामा पुग्नका लागि भरियाहरु खोज्नुपर्ने बाध्यता छ । सहयात्राको भारी बोक्न दलहरु सजिलै तयार हुदैनन् । हुने नहुने अनेक सम्झौता गर्नुपर्ने बाध्यता छ । सिद्धान्त मिल्दैन । स्वार्थ मिल्छ । नीति मिल्दैन । नियतिले तिनैसँग मिल्न बाध्य गराउँछ । यहाँनेर संविधान चुकेको छ । संविधान राजनैतक दस्तावेज हुनुपर्नेमा समाजशास्त्रीय दार्शनिक दस्तावेज जस्तो भएको छ ।

संविधानले सबै मिल र शासन गर भन्छ । यो भावना अत्यन्तै सुन्दर छ तर मिल्न सजिलो हुँदैन । फरक फरक पृष्ठभूमि, राजनैतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्शका बीचमा एकता र सहकार्य हुन सजलो हुँदैन । प्रजातन्त्र भनेको सबै मिल र बाँडेर भोग गर भन्ने मान्यता होइन । सत्ता सहयात्राको भारी खेप्ने भरियाहरुको स्वार्थको पोको कहिल्यै भरिँदैन । सत्ताका लागि गठबन्धन हुन्छ । गठबन्धन नगरे सरकार बन्दैन । सरकार बनाउने कामलाई यसले जटिल बनाइदिएको छ । यो निकै महङ्गो छ । सत्ताको महङ्गाइसँगै माननीयहरुको मोल बढ्ने गरेको छ । यसबाट राजनीतिमा प्रशस्त विकृतिहरु भित्रिएका छन् । यस लेखमा यिनै विषयमा समीक्षात्मक विचारहरु समेटिएको छ ।

२.राजनीतिक आदर्श, मूल्य र मान्यताको वर्तमान अवस्था: राजनीति विचार हो । धारणा हो । सैद्धान्तिक दार्शनिक चिन्तनबाट राजनैतिक विचारधाराको जन्म हुन्छ र यसले निश्चित आकार ग्र्रहण गर्छ । जस्तो पूजीवाद, समाजवाद, साम्यवाद, राजतन्त्र, गणतन्त्र … । यी विचारधारा हुन् । यसबाट नै आम रुपमा आस्थाहरुको निमार्ण, आदर्शको विकास तथा निश्चित मूल्य र मान्यताहरु विकसित हुँदै स्थापित भएका हुन्छन् । आम रुपमा गुनासो के सुनिन्छ भने नेपालका राजनैतिक दलसँग आदर्श, मूल्य र मान्यताको अभाव छ ।

सिद्धान्तहरु दस्तावेजमा सीमित छन् । नीति र कार्य नीतिहरु दस्तावेजमा सीमित छन् । व्यवहारमा रहेको चिन्तनको गरिबी कायम छ । आदर्शविहीन यात्रा र मूल्यहीन चिन्तनले राजनीति प्रदुषित भएको छ । कुनै राजनैतिक दलको अनुयायी हुँ भन्नेले उसको व्यवहारमा त्यसलाई झल्काउन सक्नुपर्छ । फरक फरक विचारधारामा चल्ने भएपछि चिन्तन र दृष्टिकोण पनि त्यही अनुरुपको हुनु वाञ्छनीय मानिन्छ तर कुनै पनि दलका अनुयायी हौं भन्नेको व्यवहार र चरित्र हेरेर यो दलको अनुयायी हो भनेर चिन्ने आधार छैन । व्यवहार र आचरणमा सिद्धान्तको छाप देखिँदैन । एउटा वगैंचामा फरक फरक जातका फूल रोपेपछि रङ्गीचङ्गी फूलहरु फुल्नुपर्दछ तर जीवनको फूलवारीमा कहिल्यै पनि फूलहरुको विविधता देख्न पाइएन । दलहरुको प्रतिवद्धता, आदर्श, मूल्य, मान्यता, आस्था र विस्वास क्रमशः स्खलित हुँदै दलहरु शिथिल हुँदै गएका छन् ।

३. प्रजातन्त्रको नयाँ मोडेल:  बैसी त्रिसीमा दलहरु निकै हौसिए । यद्यपि यो दलहरुको हतार थियो र दलहरुले केही समय पर्खिदिएको भए केही पीडाहरु खपिदिएको भए परिस्थिति फरक हुनसक्थ्यो । यो घाँडो भिरिरहनु पर्दैनथ्यो । दलहरुले बुझेनन् । दलहरुले हौसिएर गरेका केही निर्णयहरु राष्ट्रका लागि घातक छन् । संविधानमा सबैका मागलाई समेट्ने प्रयास गरियो । मुलुकलाई संघीय स्वरुपमा लगियो । समावेसी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई संविधानमा स्थापित गरियो । झट्ट हेर्दा यो व्यवस्था निकै उत्कृट जस्तो देखिन्छ तर प्रजातन्त्रको जननी मानिने बेलायत र त्यही बेलायतको सिको गर्ने भारतमा पनि यस्तो व्यवस्था छैन । भारतमा बेलायतको मोडेल लागु गरिएको छ । अमेरीकामा राष्ट्रपतिलाई शक्तिशाली बनाइएको छ । भारत बेलायतको जस्तो संसदीय मोडेलमा गएको भए पनि हुन्थ्यो अमेरीकाको जस्तो राष्ट्रपतीय मोडेलमा गएको भए पनि हुन्थ्यो । स्वीस मोडेलका केही आधारहरु यो संविधानमा छन् तर यो प्रजातन्त्रको विस्व कै नयाँ मोडेल हो । यस मोडेलले दलहरुलाई आपसमा मिलेर शासन गर भन्छ । एउटै दललाई शासन गर्ने अवसर दिँदैन । सबैको अस्तित्वलाई स्वीकार गरेर जाउ भन्छ । सत्ता र प्रतिपक्षको कुरा पनि गर्छ । बहुमत र अल्पमतको कुरा पनि गर्छ । बहुमतको बाटो रोक्छ । बहुमतमा पुग्नै दिँदैन । प्राय असम्भव नै छ । यो संविधान रहेसम्म एउटै दलको एकमना सरकार बन्न सक्दैन । अतः दलहरुले सत्ता प्राप्तिका लागि आपसमा गठबन्धन बनाउनै पर्ने अनिवार्यता छ । गठबन्धन बनाउनु निकै झन्झटिलो र मुस्किलको काम हो । गठबन्धन बन्ने र भत्किने भइरहँदा जनतामा नकारात्मक प्रभाव पर्छ ।

४. वाम समर्थक मतदाताको बाहुल्यता:  नेपालको राजनीतिमा दुईवटा ठूला प्रवाहरु छन् । प्रजातन्त्रमाथि विस्वास राख्ने एउटा प्रवाह छ र हालसम्म त्यसको नेतृत्व गर्ने अभिभारा काँग्रेसको काँधमाथि छ । बामपन्थी विचारधारामा विस्वास राख्ने विभिन्न सानाठुला समूहहरु छन् । यिनीहरु कहिले संगठित हुन्छन् र कहिले फुटेर विभाजित हुन्छन् । त्यसै अनुसार बाम मत सधैं जसो विभाजित भइरहन्छ । बाम गठबन्धनबाट प्रजातान्त्रिक शक्तिले तर्सनुपर्ने अवस्था छ र विगतको परिणामले पनि त्यही कुरा प्रमाणित गरिदिएको छ । नेपालका प्रजातान्त्रिक शक्तिहरुको टाउको दुखाइको विषय यही हो ।

५. सत्ताका लागि गठबन्धनको अनिवार्यता: एक्लै चुनावमा गए हारिन्छ भन्ने पिर मात्रै होइन गठबन्धन गरेर नगए सरकार बनाउँन सकिँदैन भन्ने मनोविज्ञानले दलहरुलाई चक्रव्यूहमा फसाइ दिएको छ । दलहरुको समस्या के छ भने कोसँग गठबन्धन गर्ने ? राजनैतिक सैद्धान्तिक आधारमा गठबन्धन गर्न अप्ठ्यारो थिएन तर सैद्धान्तिक आधारमा गठबन्धन भयो भने माथि नै भनियो अहिलेलाई बामशक्ति नै बलियो छ । बाम गठबन्धन भयो भने सत्ता उनीहरु कै हो । सधैंलाई होइन । अहिलेलाई । बामदल एकातिर र बाँकी सबै दल अर्कातिर गठबन्धन गरेर गए पनि तत्काल बहुमत पु¥याउन सक्ने अवस्था अरुको छैन । यो विस्व पूँजीवादीहरुको लागि चिन्ताको विषय बन्दै गएको छ । बामपन्थीहरु मुद्धामा निकै बहस गर्छन् । सिद्धान्तमा निकै गहिरिन्छन् । व्यवहार जे भए पनि । बामपन्थीलाई बहस मन पर्छ । सिद्धान्तका मीठा कुरा मन पराउँछन् । यही भएर बामपन्थीहरु एक अर्कामा झगडा गरेर विभाजित हुन्छन् । अहिले बाम शक्ति विभाजित भएको छ । बाम विरोधी खेमाका लागि यो निकै सुखद कुरा हो । यो निकै सहज परिस्थिति हो । पूँजीवादीहरु यही परिस्थितिसँग खेल्नि मन पराउँछन् । दुनियाँमा कसैले कसैलाई बिना कारण त्यतिकै माया गर्दैन । अरुबाट माया पाउँन त्यति सजिलो हुँदैन । नेपालमा बमपन्थी हुँदैन थिए भने यहाँ अमेरिका आउँने थिएन । एम सि सि परियोजना नेपालमा आउँने थिएन । पूँजीवादीहरु के विस्वास गर्छन् भने गरिबी रहेसम्म मात्रै बामपन्थी रहन्छन् र केही हदसम्म यो तथ्य सत्य सावित भएको पनि छ । धनी हुँदै गएपछि कम्युनिष्टहरु भ्रष्ट हुँदै जान्छन् । बामपन्थी शक्तिको उपस्थितिको कारणले नेपालमा ठूलठूला घटनाहरु भएका छन् ।

बामपन्थी शक्तिले सत्ता गठबन्धनलाई जटिल बनाइदिएका छन् । हठात् निर्णय गरिदिने । गठबन्धन भत्काउने र नयाँ गठबन्धन खडा गरिदिने । कहिले कोसँग गठबन्धन गर्ने ? कहिले कोसँग गठबन्धन गरिदिने ? गठबन्धनले कमजोरलाई पनि बलियो बनाइदिन्छ र बलियालाई पनि कमजोर बनाइदिन्छ । यस कारणले राजनीतिमा सत्ता गठबन्धन निकै महत्वपूर्ण छ । अहिले सत्ताका लागि बनेको गठबन्धन कमाइ खाने भाँडो पनि भएको र कतिपय सन्दर्भमा घाँडो पनि भएको छ । सत्ता सयल गर्न गठबन्धन एउटा साहारा भएको छ । सत्तालाई भागबण्डा गरेर सत्ताको भोग गर्नका लागि गठबन्धन अनिवार्य भएको छ । यो गठबन्धन निकै लामो समय सम्म कायम रहन पनि सक्छ कुनै मतभेद सिर्जना भएर भाँडिन पनि सक्छ । गठबन्धन कै कारणले कमजोर देखिएकाहरु ब्लिया बन्छन् र बलवान सावित भएकाहरु कमजोर हुन्छन् । गठबन्धन राजनीतिको शक्ति हो । कसकसले गठबन्धन गर्छन् त्यो भन्न सकिँदैन तर यो भन्न सकिन्छ कि गठबन्धन भइरहन्छ । निरन्तर गठबन्धन भइरहन्छ । यसकारणले कि सत्ता सबैका लागि आवश्यक छ । संविधानले गठबन्नलाई अनिवार्य बनाइदिएको छ । भविस्यमा देखिएला आगामी दिनमा सत्ताका लागि बन्ने गठबन्धनको स्वरुप । गठबन्धनले कुन दललाई कहाँबाट कहाँसम्म पु¥याउला त्यो पनि त देखिएला । अनि फेरि पनि गठबन्धनका बारेमा लेखिएला । रिसानी माफ गरिबक्सेला । जय नेपाल माता । जय धरती माता । जय राष्ट्र । जय जाती । जय पूर्खा । जय वीर गोर्खाली ।

२०७९ साउन ५ गतेको सफल नेपाल साप्ताहिकमा प्रकाशित


ताजा खबर