‘आलु काटी तामा हजुर छेपारोलाई जामा, भ्यागुतोलाई इस्टकोट…’ साढे चार दशकअघि रेडियो नेपालबाट घन्किएको यो कालजयी गीत अहिले पनि हाटबजारदेखि भान्सासम्म उत्तिकै सान्दर्भिक बनेको छ । असार लागेदेखि नै गाउँघरमा तामाको बास्नाले यो लोकगीतलाई पनि स्मरण गराएको छ ।
तामा नेपाली संस्कृतिको द्योतक पनि हो । यसको स्वाद र सम्झनाले मात्र पनि मन दङ्ग हुन्छ । मीठो, स्वादिलो र औषधिजन्य गुणले भरिभराउ भएकाले नेपाली भान्साको लोकप्रिय परिकारमा पर्छ । शुभ कार्यदेखि पितृ कार्यसम्म यसको प्रयोग उत्तिकै हुने गरेको छ ।
बजारमा अहिले तामा बेच्ने र किन्नेको भीडभाड छ । कारण यो महिनापछि आलो तामा पाइँदैन । असार–साउन तामा उत्पादनको मौसम हो । यसको मधुर बास्नाले हाटबजारको वातावरणलाई नै तामामय बनाएको छ । बजारमा अहिले मुना र चाना गरी दुईथरि तामा पाइने गरेको छ । दुवैको मूल्य प्रतिकिलो एक सय रुपियाँ पर्ने गरेको छ ।
बर्दिबासको बुधबारे हाटमा मुना तामाको कारोबार गर्दै आउनुभएका धनुषाका मानबहादुर तामाङले धनुषाको धारपानीका सुदूरडाँडाबाट ल्याइएको बताउनुभयो । “फोस्रे, ढुङ्ग्रे र चाउ बाँसका तामा खान योग्य हुन्छ,” उहाँले भन्नुभयो, “यिनका तामा औधि स्वादिलो हुन्छ । तीतो वा टर्रो हँुदैन ।”
तामा सेवन गर्न पल्किएकाले २४ किलोमिटर टाढा रहेको भारतीय सीमाबाट पनि भारतीय नागरिक तामा किन्न बर्दिबास आउने गरेका छन् ।
बर्दिबास बजारमा असारतिर मुना तामा बढी बिक्री भएका थिए । साउन लागेदेखि चाना तामाको माग बढेको व्यापारीको भनाइ छ । उनीहरूका अनुसार हाट लागेको दिन बर्दिबासमा पाँच सय केजीभन्दा बढी तामा खपत हुने गरेको छ । वर्षभरिका लागि सञ्चित गर्न सकिने हुँदा ग्राहकले प्रायः एक धार्नीभन्दा बढी किन्ने गरेका छन् ।
बर्दिबास–५, बरडाँडाका अधिकांश बासिन्दाले तामा उत्पादनका लागि आफ्नै खेतमा ढुङ्गे्र प्रजातिका बाँस लगाएका छन् । तामा व्यापारी नीरमाया ब्लोन र मैती ब्लोनले आफैँले उत्पादन गरेका बाँसबाट तामा तयार गर्ने गरेको बताउनुभयो । अर्का तामा व्यापारी लक्ष्मी घलानले तामा बटुल्न जङ्गल जानुपर्ने अवस्था अचेल नभएको बताउनुभयो ।
बर्दिबास–३ स्थित कारेघाप्टे वन उपभोक्ता समितिका अध्यक्ष रमेश खत्रीले तामा बाँसको व्यावसायिक उत्पादन गरेर वातावरण संरक्षणदेखि रोजगार प्रवद्र्धनसम्मको सम्भावना रहेको बताउनुभयो । उहाले रातु नदी प्रणालीको चुरे क्षेत्रमा तामा उत्पादन हुने कुलमी राइजिङ प्रजातिका दुई हजार बाँसका बिरुवा रोप्ने कार्य भइरहको बताउनुभयो । तामा उत्पादन भने वन ऐनअनुसार गैरकानुनी हो । डिभिजन वन कार्यालय महोत्तरीका डिभिजनल वन अधिकृत (डीएफओ) सन्तोष झाले भूक्षय र वातावरण संरक्षणमा बाँसको भूमिका महत्त्वपूर्ण हुने भएकाले कलिला मुनाको जथाभावी दोहनलाई कानुनले निषेध गरेको बताउनुभयो । “तामा खान पाइन्छ तर तामाकै नाममा वातावरण र नदी प्रणालीलाई प्रभाव पार्ने गरी बाँस मास्न कानुनले रोक लगाएको छ,” उहाँले भन्नुभयो । मुस्कानसहितको वृक्षरोपण– बर्दिबास–३ स्थित बीपी राजमार्ग नजिकको रातु नदी प्रणालीका कारेघोप्टे खोलाको भीरमा तामा उत्पादन हुने ‘कुलमी राइजिङ’ प्रजातिको बाँसका बिरुवा रोपन जाँदै स्थानीय जनजागृति मावि पाटुकी छात्रा ।
डिभिजन वन कार्यालय महोत्तरी, बर्दिबास नगरपालिका र कारेभोगटे वन उपभोक्ता समितिको सहकार्यमा उक्त प्रजातिका २ हजार बिरुवा लगाइएको छ ।