मङ्सिर र पुसमा बढ्दै छन् चलचित्र प्रदर्शनी

आसन्न निर्वाचनका लागि उम्मेदवारहरूको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ ।

आम मानिसको ध्यान निर्वाचनमा केन्द्रित रहेको हुँदा मङ्सिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने घोषणा हुँदासमेत मङ्सिरदेखि माघसम्म प्रदर्शनको मिति  खाली थिए  तर अहिले बिस्तारै ती महिनामा पनि प्रदर्शन गरिने भएका छन्।

फागुनपछि प्रदर्शनका लागि सङ्घर्ष गर्नुपर्ने भएपछि अगावै चलचित्र प्रदर्शन गरिने  घोषणा   हुन थालेको वितरक करण श्रेष्ठले बताउनुभयो । “निर्वाचन, जाडोको समय र विश्वकप फुटबलले असर गर्ने अनुमानले चलचित्र फागुनमा रिलिज घोषणा भएका छन् । खाली डेट भएकै कारण मेरो एउटा चलचित्रसमेत मङ्सिरमा प्रदर्शन गर्दैछु”, उहाँले  भन्नुभयो,“दर्शकलाई आकर्षित गर्न सकेमा चलचित्रको व्यापार राम्रै हुन्छ । निर्वाचन लगत्तै चलचित्रले एकल प्रदर्शन हुन् पाउनेछन् ।” मङ्सिरमा चलचित्रको भिडन्त नभए तापनि पुस १५ मा भने तीन चलचित्र प्रदर्शन हुने तयारीमा छन् ।

मङ्सिरमा मिलन, पासो, डेसान, चोर–पुलिसलगायत चलचित्र  प्रदर्शनका लागि घोषणा भइसकेका छन् । पुसमा डिसेम्बर फल्स, कौसिद र ची मुसी ची प्रदर्शन हुने घोषणा गरिएको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले केही समययता नेपाली चलचित्रले गरिरहेको व्यापारले आश बढाएको बताउनुभयो । “असोज र कात्तिकमै चार नेपाली चलचित्रले घरेलु बजारबाट लगानी उठाएका छन् ।

दर्शकलाई चाहिने चलचित्र ल्याउने हो भने लगातार चलचित्र चल्छ”, उहाँले भन्नुभयो,“दर्शक आइरहँदा उहाँहरूको रुचिभन्दा बाहिरको चलचित्र प¥र्यो भने पुनः हल फर्काउन भने समय लाग्छ ।”एउटै मितिमा धेरै चलचित्र घोषणा हुँदा असर परिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले स्विकार्नु भयो । “चलचित्रसँग सम्बन्धित सङ्घ तथा संस्थासँग परामर्श गरेर हामी दिगो समाधान निकाल्ने प्रयासमा छौँ । नीति नियमसँगै आपसी सहमतिका प्रयास पनि भइरहेका छन्”, उहाँले  भन्नुभयो । –रासस


ताजा खबर