स्वास्थ्यकर्मी, विशेष गरेर चिकित्सकहरुमाथिको हिंसा, नेपालको स्वास्थ्य क्षेत्रमा भयावह समस्याको रुपमा फैलिरहेको छ । हरेक दिन, हप्ता र महिना डाक्टर कुटिएको, अभद्र व्यवहार गरिएको समाचारले छापा र सामाजिक सञ्जाल भरिएका हुन्छन् । सायद धेरै यस्ता समाचारहरु व्यक्तिगत र सामाजिक कारणले बाहिर नै आउँदैनन् । त्यसैले घटनाको आयतन रिपोर्टिङ गरिएभन्दा अवश्य नै धेरै हुनुपर्छ । स्वास्थ्यकर्मीलाई धम्काउने, तर्साउने, गाली गर्ने र भौतिक आक्रमण नै गर्ने खालका घटना नेपालको मात्र होइन् यदाकदा मात्र पश्चिमी विश्वमा देखिने यी घटना एसियाली मुलुकहरु र त्यसमा पनि दक्षिण एसियामै उग्र समस्याको रुपमा देखिएको छ ।
डब्लुएचओको प्रतिवेदनअनुसार नै ८ देखि ३८ प्रतिशत स्वास्थ्यकर्मी आफ्नो पेशागत जीवनको एक क्षणमा दुर्व्यवहारको शिकार हुनपुग्छन् । यस्ता दुर्व्यवहारका कारणहरु बहुआयामिक छन् । बिरामी वा बिरामीका आफन्त वा स्वास्थ्यकर्मीलाई सिधैं दोष दिनुभन्दा पनि मूल समस्या हाम्रो स्वास्थ्य प्रणालीमा, सामाजिक धरातलमा र कानुनी फितलोपनामा छ भनेर बुझियो भने समस्याको समाधान गर्न सजिलो हुन्छ होला ।
पहिले हाम्रो स्वास्थ्य प्रणालीमा भएका समस्याहरुतर्फ लागौं ।
चिकित्साशास्त्रको किताबी ज्ञानमा पूरै ध्यान केन्द्रित हुन्छ, हाम्रा स्वास्थ्य सम्बन्धि शिक्षण संस्थाको । पढाइ सकेर प्राक्टिसमा उत्रदा कस्ता व्यवहारिक समस्या झेल्नुपर्छ र तिनबाट कसरी ज्ञान पाउने भन्ने कुरा पोस्टग्राजुयसन एजुकेसन सकिँदासम्म सिकाइदैंन् । यो कुरा पाठ्यक्रममा नै हुँदैन् । बिरामी र बिरामीका आफन्तसँग कसरी बोल्ने? कसरी व्यवहार गर्ने भन्ने नै सिकाइदैंन् । उपचारमा जटिलता आउँदा वा उपचारको परिणामा भनेजस्तो नआउँदा यो समाचार कसरी प्रस्तुत गर्ने, बिरामीका आफन्तलाई कसरी काउन्सिलिङ गर्ने भन्ने कुराको औपचारिक तालिम दिइएको हुँदैन् ।
हाम्रो औपचारिक स्वास्थ्य शिक्षामा उपचारअघि, उपचारको बेला र उपचारपछि विस्तृत रुपमा बिरामी र उसको परिवारलाई जानकारी दिने परिपाटी नै छैन । रोगका बारेमा गरिन लागेको उपचार, त्यस सम्बन्धि उपलब्ध वैकल्पिक उपचारहरु, सम्भाव्य जटिलताहरु, लाग्ने सम्भावित खर्चहरु आदिको बारेमा काउन्सिलिङ गरिएन भने पनि यस्ता दुर्व्यवहारको सम्भावना बढी रहन्छ ।
काउन्सिलिङको अभावमा बिरामी र आफन्तलाई अति आशावादिता हुन्छ र खोजेजस्तो नभएपछि रिसाउने आक्रामक हुने क्रम बढ्छ । हाम्रा प्रायः स्वास्थ्य संस्थामा बिरामीको चाप असाध्यैं रहन्छ । डाक्टर र बिरामीको अनुपात चाहिनेभन्दा बढी नै हुन्छ ।
स्वास्थ्यकर्मीले पर्याप्त समय दिन सम्भव नै हुँदैन् । अनि, काउन्सिलिङ कहाँबाट गर्ने?
यो परिस्थिती हटाउन मानवीय स्रोत बढाउनुपर्छ । महंगो मेडिकल शिक्षा पनि यसको एउटा कारण हो । महंगो शिक्षाको लगानी उठाउन महंगो शुल्कमा उपचार गराउनैपर्यो । यत्रो पैसा तिरेर पनि मेरो मान्छेको स्वास्थ्य सुध्रेन भन्ने रोष पनि हुन्छ बिरामी पक्षको । सुलभ र मेरिट बेस्ड मेडिकल शिक्षा कसरी उपलब्ध गराउने? यो पनि समाधानको उपाय हो । डाक्टरले पढेको ज्ञान र सीप कुनै अलौकिक जादू होइन । न त सेतो कोटले दैवी शक्ति नै दिन्छ भन्ने कुरा पनि पब्लिकले बुझ्नैपर्छ । र, त्यो बुझाउने काम पनि हामी मेडिकल समुदायकै हो ।
यसले हल्का हाम्रो सामाजिक सौर्य घट्ला तर दूर्व्यवहारको शिकार हुँदा नै हाम्रो मर्यादा कहाँ कायम रहन्छ र? डाक्टर र उपभोक्ता समूहबीच संवाद, मिडिया क्याम्पेनले पनि यसमा सघाउन सक्छ । कसैमाथि भौतिक आक्रमण हुनुभन्दा पहिल्यै यसको सम्भावनाको सुइको पाइएमा सुरक्षाकर्मीलाई खबर गर्नु ठीकै हो । आक्रमणबाट बचाउने वातावरण आवश्यक पर्ला ।
तर, मलाई स्वास्थ्य संस्थाहरुमा पुलिस तैनाथ गरेर समस्या कम होलाजस्तो चाहिँ लाग्दैन् । नेपालमा यो समस्याको एउटा ठूलो कारण खराब पत्रकारिता पनि हो । उपचारका क्रममा देखिने जटिलता र डाक्टरको लापरबाही एउटै हो जस्तो गरी छापिने समाचार आगोमा डिजेल छर्कने काम गरेको देखेको छु । संवेदनशील र दायित्वपूर्ण पत्रकारिताले समस्याको आगोमा दमकलको काम गर्न सक्छ । भारतमा भएको एउटा अध्ययनले के देखाएको छ भने धेरैजसो डाक्टर नर्स विरुद्धको हिंसा आईसीयु र इमर्जेन्सीमा हुने गरेका छन् । मेरो विचारमा तत्काल गर्न सकिने भनेको यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई मात्रै विशेष तालिम र सुरक्षाको प्रबन्ध गर्ने हो भने समस्यालाई निकै कम गर्न सकिन्छ ।
यदाकदा दूषित नियत लिएर बिरामी र उनका आफन्त नआउने होइनन् । कहिलेकाहीँ त बिरामीको जटिलताको दुष्परिणामबाट फाइदा उठाउन ठेक्कै लिएर धम्क्याउने, र्यान्डम लिने भन्ने पनि सुनिएको छ । तर, अधिकांस घटनाहरु दुई पक्षबीचको राम्रो संवादको कमीले नै हुने गर्छ । तैपनि कानुनी हिसाबले दुवै पक्षलाई न्यायोचित हुने गरी कानुनी व्यवस्था हुनुपर्छ ।
दुर्नियतले गरिएका सबै आक्रमणहरु सजायको भागी हुनैपर्छ । दीर्घकालीन समाधानको रुपमा हामीले हाम्रो स्वास्थ्य प्रणाली, सामाजिक अपेक्षा, आम समुदायको चेतनास्तर उकास्नै पर्छ । तर, तत्कालीन समाधानको रुपमा हाम्रो स्वास्थ्य समुदायले आफैंबाट सुरु गर्नुपर्छ । मेडिकल कलेजमा एमबीबीएसदेखि पीजीसम्म पेसेन्ट–डाक्टर कम्युनिकेसन करिकुलमको रुपमा राख्नैपर्छ । अभ्यासरत स्वास्थ्यकर्मीहरुलाई पनि यस सम्बन्धि तालिमको व्यवस्था यथाशीघ्र गर्नैपर्छ । उपचार गर्नुअघि विरामी र सम्बन्धित पक्षलाई सकेसम्म धेरै काउन्सिलिङ गर्नैपर्छ ।
स्वास्थ्य उपचारलाई सकेसम्म कम खर्चिलो गराउन सकेपनि यो समस्या कम हुन्छ जस्तो लाग्छ । त्यसको निम्ती औषधि कम्पनीको प्रभाव कम गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ हुने चिकित्सकीय दुर्घटनाको मुद्धाबाट चिकित्सक समुदायलाई बचाउन मालप्राक्टिस इन्स्योरेन्सको व्यवस्था हुन्छ र पनि आत्मविश्वासका साथ चिकित्सकीय अभ्यास गर्न सहज हुन्छ । डाक्टरी जीवनमा सिक्ने प्रक्रियया जीवन पर्यन्त रहन्छ ।
अन्त्यमा म के भन्छु भने हामीले हाम्रो मूल धर्म मानव सेवालाई सर्वोपरी राख्नुपर्छ । करुणाका साथ हाम्रा बिरामी र उनका आफन्तलाई सम्मान दिंदै गयौं भने अन्ततोगत्वा त्यो हाम्रो गुम्दै जान लागेको सम्मान फेरि आउँछ । हाम्रो परिवार र समाजमा जति विश्वास बढ्छ, त्यो पोखिएर हामी र हाम्रा बिरामीको सम्बन्धसम्म आइपुग्छ । चिकित्सक र समाजबीचको बन्धन कसिँदै जान्छ । प्रविधि यसमा सहायक मात्र हो ।
मूल कुरा मानव–मानवबीचको सौहार्दता हो । नत्र अस्पताल र चिकित्सकका सुरक्षा गार्ड बढ्छन् । हाम्रो सम्बन्ध र मर्यादा बढ्दैंन । अविश्वास, गलतफेहमी र असमझदारी बढ्छ । चिकित्सा सोवाको गुणस्तर बढ्दैन् ।
( वि।सं। २०४९ सालका एसएलसी बोर्ड फष्ट डा। थपलिया हाल अमेरिकाको डाभिटा हेल्थ केयर पार्टनर्स इन्कमा क्यान्सर रोग तथा रक्त विशेषज्ञका रूपमा कार्यरत छन्। उनी अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्व अध्यक्षसमेत हुन् ।)