स्पेनलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै मोरोक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
एजुकेशन सिटी स्टेडियममा मंगलबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा मोरोक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर मोरोक्कोले बाजी मारेको हो ।
टाइब्रेकरमा मोरोक्कोका अब्देलहामिद साबिरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गर्नुभयो । बदर बनोउनको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाए ।
यता टाइब्रेकरमा स्पेनका कुनैपनि खेलाडीले गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लागेको थियो । कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टी प्रहारलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराउनुभयो ।
अघिल्लो संस्करणमा पनि स्पेन टाइब्रेकरमा रसियासँग पराजित भएको थियो । त्यसअघि स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । रोयटर्स