ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार भोलीबाट

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको (बिओके) एकीकृत कारोबार भोली पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डूको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपछि ग्लोबल आइएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपछि बैंकको चुक्ता पुँजी रु. ३४ अर्ब ४१ करोड पुग्नेछ । बैंकको वित्तीय विवरणका आधारमा मर्जरपछि  बैंकको निक्षेप रु. तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु. तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपछि बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् ।

मर्जरपछि  बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नुहुनेछ । साथै मर्जरपछि  बैंक अफ काठमाण्डूका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नुहुनेछ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको थियो ।


ताजा खबर