प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो ।

बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल २७० सांसद उपस्थित हुनुहुन्थ्यो ।

सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । रासस


ताजा खबर