कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफलमा उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक परिदृश्य र विदेश नीतिका बारेमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउनुभएको थियो । सङ्घीय संसद्को निर्वाचनको परिणाम गठबन्धन सरकारको पक्षमा देखिएकाले सोहीअनुसार वर्तमान सरकार गठन भएको प्रधानमन्त्रीको भनाइ छ ।

निर्वाचनमा जनताले दिएको मतअनुसार नै गठबन्धन गरेर सरकार गठन गरेको र समावेशी लोकतान्त्रिक अभ्यास गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

वर्तमान गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा स्पष्टसँग काम कारबाहीका बारेमा उल्लेख गरिएको र त्यसलाई कार्यान्वयन गर्न लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले आफूहरूको प्रयास सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेतर्फ केन्द्रित रहेको तथा सबै प्रकारका भेदभावको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न प्रयासरत रहेको बताउनुभयो ।

उहाँले लोकतन्त्रलाई बलियो र संस्थागत गर्दै देशको विकास समृद्धिमा जोड दिने काम सरकारले गरिरहेको बताउनुभयो । आर्थिक समृद्धिमा नै वर्तमान सरकारले काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

नेपालीकै प्रयासमा शान्ति प्रक्रियालाई करिब सम्पन्न गरेको र बाँकी रहेका कामलाई सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानबिन आयोग बनाएर अगाडि बढाइएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा कुनै पनि प्रकारको आममाफी नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोनाका कारण आफूहरू पनि अछुतो नरहेको उल्लेख गर्दै त्यसबाट देशको अर्थतन्त्रमा ठूलो असर गरेको र हाल सुधारोन्मुख रहेको बताउनुभयो ।

विशेष गरी स्वच्छ ऊर्जा, पर्यटन र पूर्वाधारका क्षेत्रमा वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न थप कानूनी, नीतिगत र संस्थागत सुधार गर्दै जाने उहाँको प्रतिबद्धता छ । “तपाईँहरूमध्ये धेरैजसो नेपालको विकास प्रयासहरूमा लामो समयदेखि साझेदार हुनुहुन्छ र तपाईँको सहयोगले देशको प्रगतिलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गति दिन र बिमस्टेकलाई नयाँपनका आधारमा गति दिन प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

विश्व शान्ति र सुरक्षा, दिगो विकास, मानव अधिकार र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दामा नेपालको संलग्नता र योगदानलाई थप सुदृढ पार्दै लैजाने सोच राखेको प्रधानमन्त्रीको भनाइ छ । बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता सदैव दृढ रहेको तथा संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित सिद्धान्तप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत लगायतको सहभागिता थियो । रासस


ताजा खबर