प्रतिनिधिमण्डल सहित प्रधानमन्त्री दाहाल दिल्लीमा

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  बुधवार भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो ।

त्यस क्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरू पनि सडकका किनारमा राखिएको थियो ।

यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरू तथा उद्योगी, व्यवसायीहरूको सहभागिता छ ।

आजै साँझ प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुने छ ।

आज साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुनेछ ।


ताजा खबर