बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गरी गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो । मन्त्रालयले सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी तथा सडेगलेका खानेकुरा नखान, काँचो खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान पुर्‍याउन आग्रह गरेको छ ।

यसैगरी, खानालाई छोपेर राख्न र खुला रुपमा दिसा पिसाब नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात धुन समेत आग्रह गरिएको छ ।

मन्त्रालयले बालबालिकालाई हैजा तथा झाडापखाला लागेमा घरमा नै उपचार गर्न समेत आग्रह गरेको छ । पखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटक पटक खुवाउन आग्रह गरिएको छ ।

बालबालिकालाई प्रशस्त मात्रामा सफा तथा झोल खानेकुरा खुवाउन, नरम तथा पच्ने खानेकुरा खुवाउन, जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउन र सरसफाइमा ध्यान दिन अभिभावकलाई आग्रह गरिएको छ । रासस


ताजा खबर