सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ ।

कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु छ करोड ७४ लाख ९२ हजार दुई सय ६२, आश्रित परिवार सुरक्षा योजनाबापत रु सात करोड ९६ लाख ७६ हजार दुई सय २६ र वृद्धावस्था सुरक्षा योजनाबाट रु चार अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय ९९ भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषमा हालसम्म रु ३५ अर्ब १० करोड योगदान रकम सङ्कलन भइसकेको छ ।

कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ ।

कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन् । सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । रासस


ताजा खबर