बिपीको विचार अझै उत्तिकै सान्दर्भिक : उपप्रधानमन्त्री खड्का

नेपाली काँग्रेस उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली जनताको आकाङ्क्षा पुरा गर्न नयाँ विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

बिपी स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित कार्यक्रममा उपसभापति खड्काले जनतामा देखिएको निराशा र अविश्वासलाई हटाउन आर्थिक र सामाजिक विकास मार्फत नवीन ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

उपसभापति खड्काले १५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा बिपीले गर्नुभएको उद्घोष पुरा गर्न लोभ र डरबाट मुक्त भएर इमानदारीपूर्वक सरकार अघि बढेको बताउनुभयो ।उहाँले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राजनीति र साहित्यका शिखर व्यक्तित्व बिपीको विचारमा आधारित विकास अघि बढाउन सके सच्चा समाजवाद हुने बताउनुभयो । मन्त्री किरातीले नेपाली माटोमा आधारित राजनीतिक विचार स्थापित गर्न नसक्दा समस्या आउने गरेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला सिर्पाली ठकुरीले बिपीले सामाजिक न्याय सहितको समाजवादको सुन्दर परिकल्पना गर्नुभएको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री, मन्त्री र राज्य मन्त्रीले संयुक्त रुपमा राजनीति र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउनुहुने व्यक्तित्वहरूलाई नगद एक लाख र सम्मान पत्रसहित बिपी कोइराला राष्ट्रिय पुरस्कार समर्पण गरिएको थियो ।

राजनीतिक दर्शनतर्फ पूर्व मन्त्री एवं काँग्रेस नेता कुलबहादुर खड्का र ढुण्डीराज शास्त्रीलाई प्रदान गरिएको थियो भने साहित्यतर्फ देवीप्रसाद वनवासी र गिरीराज आचार्यलाई प्रदान गरिएको थियो ।

बिपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदानलाई कायम राख्न राजनीति र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुन व्यक्ति एवं संस्थालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट २०७८ देखि पुरस्कार प्रदान गर्न शुरु गरिएको संस्कृति मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।


ताजा खबर