उपनिर्वाचनको परिणाम आईसकेको छ । परिणामको लेखाजोखा गर्दै आ–आफ्नो हैसियत तौलिने र नाप्ने ध्याउन्नमा छन् प्रमुख दलहरु यतिबेला । हारमा अर्काको दोष र जितमा आफ्नो मेहनतको फल देख्ने परम्परागत मनोग्रन्थी अनुसार नै दलका मुखियाहरु प्रतिक्रिया दिईरहेका देखिन्छन् । यता केही दिनका सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता र प्रवक्ताहरुका अभिव्यक्तिमा निर्वाचनको वस्तुगत विश्लेषण कम भावनात्मक प्रतिक्रिया बढ्ता देख्न पाईन्छ ।
युवा मतदाताको बाहुल्य रहेको यो उपनिर्वाचनमा उनीहरुले राजनीतिक दलहरुसँग के कस्तो अपेक्षा गरेका थिए र कस्तो जवाफ दिए भन्ने तर्फ ठूला भनिएका दलहरुले ध्यान दिन आवश्यक नठानेको देखिन्छ । सत्तारुढ दलप्रति बढ्दै गएको अरुचि र त्यसको बदलामा कुनै आकर्षण नभएको प्रमुख प्रतिपक्षप्रति युवा मतदाताले वाध्यताले मतदान गरेको देखिन्छ । कास्की २ मा दलीय लगावका अतिरिक्त भावनात्मक मत बढी खसेको देखिन्छ । नेकपाकी उम्मेदवार विद्या भट्टराई स्वयं एक सक्रिय कार्यकता र दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी समेत भएकीले तटस्थ मतदाताले पनि समर्थन गरेर उनलाई निर्वाचन जित्न सहज बनाएको बुझ्न गाह्रो छैन ।
दलहरुले परिणामलाई मात्र नहेरी सतहभित्र तातेको राजनीतिको वस्तुगत विश्लेषण गर्ने हो भने यो उपनिर्वाचनको परिणामको खास कारणहरु थाहा पाउन सक्नेछन् । धरानको परिणाम नेपाली कांग्रेसको पुरुषार्थको मात्र परिणाम होइन । तिलक राईको लोकप्रिय छवि निर्वाचन जित्ने एउटा बलियो कारण भए पनि अरु महत्वपूर्ण कारण पनि देखिन्छन् । खासगरी धरानका पूर्व एमाले र पूर्व माओवादीवीच सही एकता नभएको बलियो प्रमाण हो धरानको परिणाम ।
यसमा अर्को बिर्सन नहुने पक्ष पनि छ । त्यो हो– नेकपाले बिगतमा भीम आचार्यलाई पन्छाएर शेरधन राईलाई प्रदेश १ को मुख्यमन्त्री चुन्नु । धरान र सेरोफेरोका पूर्व एमाले नेता कार्यकर्ताले भीम आचार्यमाथि गरिएको ‘अन्याय’ विरुध्द नेतृत्वलाई मतद्वारा जवाफ दिएको धरानका अनुभवी राजनीतिकर्मीहरु यतिबेला चर्चा गरिरहेका पाईन्छन् ।
त्यसैले कांग्रेसले आफ्नै पुरुषार्थले ‘लालकिल्ला कब्जा गरेको’ भनी तिघ्रा ठटाउनु सुहाउँदो देखिएको छैन । यद्यपि निर्वाचनको प्राविधिक पक्ष हो जित, यसमा कांग्रेसले धरान नगरमा जितेको छ । तर यसभित्रका अनेक कारण सही ढंगले विश्लेषण गरेर अघि बढेमा कांग्रेसले धरानमात्र होइन सुनसरीभरकै राजनीतिमा फेरबदल ल्याउन असम्भवन चैं छैन । त्यसैले कांग्रेसले पनि सच्चिने कि भन्ने मत अहिले प्रकट भैरहेको देखिन्छ ।
यता कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचन परिणामले सत्तारूढ नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको टिप्पणी गरेका छन् । उनका अनुसार, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले २०७४ को नतिजाका आधारमा उपनिर्वाचनमा हासिल गरेको सफलता क्षीण हुँदै गएको जनमतको संकेत हो ।
शर्माले सोमबार पत्रकार सम्मेलनमा नेकपाले बागलुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाइले प्राप्त विजय, कास्की र दाङमा वस्तुगत राजनीतिक प्रभावभन्दा पनि सहानुभूतिमा मत संयोजन गर्नुपरेको भनी टिप्पणी गरेका छन् । यी तीनै क्षेत्रमा कांग्रेसले परिणाम हासिल नगरे पनि मतान्तर घटाएको परिस्थिति नेकपाका लागि सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ रहेको शर्माको दावी छ ।
प्रवक्ता शर्माको दावी अनुसार– ‘उपनिर्वाचन परिणामले एकातर्फ कांग्रेसको सांगठनिक आत्मबल बढाएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झैँ बाहिर गति र भित्र अन्तरविश्वास बढाउन खुला सन्देश सिंगो पार्टीपंक्तिलाई प्राप्त भएको छ ।’
प्रवक्ता शर्माले निर्वाचन परिणामलाई लिएर प्रकट गरेको प्रतिक्रिया केवल आत्मरति मात्र हो । यही परिणाममा कांग्रेसले बुर्कुसी मारिहाल्नुपर्ने हैसियत प्राप्त गरिहालेको मान्न सकिँदैन । किनभने बिगत संसदीय निर्वाचनमा बलियो सम्भावना भएका स्थानीय नेतालाई बलिको पशु बनाउँदै निर्वाचन क्षेत्र र महानगरहरु बस्तुको विनिमय झैं लेनदेन गरेको ऐतिहासिक भूल नसच्याउँदासम्म कांग्रेसप्रति मतदाताको स्वाभाविक समर्थन बिगतमा जसरी पाउन कठिन देखिन्छ ।
जननिर्वाचित संसद चाँदीको किस्तिमा राखेर निरंकुश राजालाई बुझाउने शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसको कायाकल्प भैहाल्ने गरी उपनिर्वाचनमा परिणाम आएको भनी ठान्नु कम्तीमा विश्वप्रकाश शर्मा पुस्ताका नेतालाई सुहाउने बिषय होइन । त्यसैले पहिले कांग्रेस सच्चिनु आवश्यक छ,परम्परागत मूल्य मान्यतालाई तिलाञ्जलि दिएको कांग्रेस यही अवस्थामा सच्चिहाल्ला भनी पत्याउने आधार दिन विश्वप्रकाश पुस्ता तयार हुन आवश्यक देखिन्छ । उपनिर्वाचन परिणाम नै त्यो आधार हुनसक्दैन ।
२०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाबीचको मतान्तर उपनिर्वाचनमा आइपुग्दा घटेको शर्माको दावी छ । उनले ‘२०७४ को निर्वाचनको तुलनामा नेकपाको मतको अग्रता घट्नुले २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टि बढेको पुष्टि भएको’ दाबी गरेपनि यसमा कांग्रेसको भूमिका पनि कारण हो भन्न चैं सकेनन् ।
यहाँ बिर्सन नहुने एउटा पक्ष पनि छ, त्यो हो कांग्रेसले बितेका २१ महिनामा सरकारले गरेका गल्तीहरु सच्याउन कति योगदान गर्न सक्यो । यसवीच भएका ठूल्ठूला काण्डहरु कुनै हिंसासँग जोडिएका छन्,कुनै तश्करी र भ्रष्टाचारसँग । निर्मला पन्तको हत्या देखि सुन तश्करी र नेपाल वायु सेवा निगमको वाईडबडी घोटाला काण्ड सहितका बिषयमा कांग्रेसको भूमिका सशक्त रह्यो कि अशक्त ? मतदाताले यसको जवाफ पाउन सकेका छैनन्, भविष्यमा कांग्रेस यी प्रश्नबाट उम्कन पाउने पनि छैन ।
यसपटक मतदाताको मौन प्रतिक्रियालाई ‘जिम्मेवार र शालीन प्रतिपक्ष’को भूमिकाको समर्थन भनी मूल्यांकन गर्नु त्यति दूरदर्शी र वुध्दिमानी विश्लेषण मान्न सकिँदैन । सत्तारुढ नेकपाका जनता पिरोल्ने अनेक कर्म छन् तर त्यसलाई रोक्न र जनताका पक्षमा काम गर्नेगरी सरकारलाई वाध्य पार्न नसकेको ठूलो कमजोरी लुकाएर प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उम्किन पाउने छैन । यही नै उपनिर्वाचन पछिको राजनीतिक अवस्था हो ।