प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटनअघि चीन पुग्नुहुने कार्यक्रम रहेको छ । चीनको हाङझाउमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री दाहालले बिदाइ गर्नुभएको हो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्नुभयो ।
यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ । जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी छन् ।