एनसेलले ल्यायो सामाजिक संस्थालाई सहयोगको कार्यक्रम

एनसेलले १८औं वार्षिकोत्सवका अवसरमा ‘हामी तपाईंकै लागि’ भन्ने कार्यक्रम मार्फत सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको छ।

सन् २००५ सेप्टेम्बर १७ बाट ‘मेरो मोबाइल’ को नाममा सेवा शुरू गरेको एनसेल आजियाटा लिमिटेडले आइतबार १८औं वार्षिकोत्सव मनाएको हो। यो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संस्थालाई सहयोग गर्ने कार्यक्रम घोषणा गरेको हो।

कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभल यो १८ वर्षको यात्रामा एक करोड ६० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको बताए। “एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार छौं,” उनले भने।

यस अवसरमा ‘हामी तपाईकै लागि’ कार्यक्रम घोषणा गरिएको हो। यस अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीलाई सहयोग गर्ने भएको छ। उनीहरूको समग्र तालिम र विकासका लागि आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्ने जनाएको छ।

त्यस्तै, ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम अन्तर्गत सातै प्रदेशका गैरनाफामूलक सामाजिक संस्थाबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनालाई सहयोग गर्ने भएको छ। यसको लागि इच्छुक संस्थासँग आवेदन माग पनि गरिएको छ।

निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्ने जनाइएको छ। गत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा एक अर्ब ८० करोड रुपैयाँ योगदान गरेको जनाएको छ।

यससँगै एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफर ल्याएको छ। यस अफरमा कम्पनीका सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा उपहार पाउनेछन्। एष्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्ने जनाएको छ।

प्रत्येक साता एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् भने सात जना ग्राहकले सात वटा स्कुटर पाउनेछन्। उपहारहरू प्राप्त गर्न अफर अवधिभर एनसेल सेवा प्रयोग गर्नुका साथै एनसेलको रचनात्मक नारा पठाउनुपर्नेछ।


ताजा खबर