विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ । प्रि-म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताउनु भएको छ ।
नेपालले चोटका कारण भरपर्दा डिफेन्डर अनन्त तामाङलाइ भने यो खेलमा गुमाउनेछ । तर सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ ।
विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका विष्टसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर आजको खेलमा हुनेछ । रासस