ठूला वाणिज्य बैंकलाई आपसमा मर्ज गर्ने (गाभ्ने) राष्ट्र बैंकको नीति अन्तर्गत आज क वर्गका दुई ठूला बैंक जनता र ग्लोबल आईएमई औपचारिकरुपमा मर्ज भएका छन्। आज काठमाडौंमा एकीकृत कारोबार शुभारम्भ समारोहमा अर्थ मन्त्री डा. युवराज खतिवडाले ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरे।
राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै मर्जर प्रक्रियाबाट संख्या घटाउने नीति लिएको छ। दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या घटेर २७ भएको छ।
जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड मर्ज भएर आजदेखि एकीकृत कारोबार थालेको बैंकको नाम अब ग्लोबल आइएमई बैंक लिमिटेड हुनेछ। दुवै बैंक मर्ज भएसँगै ग्लोबल आईएमई बैंक लिमिटेडको प्राथमिक पुँजी २४ अर्ब, निक्षेप संकलन २१३ अर्ब, कर्जा लगानी १९४ अर्ब पुगेको छ।