बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखी क्पाम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने विषयमा कार्यदल गठन गर्ने निर्णय गरेको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले प्रदेशको बहुवर्षिय आयोजना अन्तर्गत बागमती प्रदेशमा निर्माण भएका प्रहरी चौकीको २६ करोड ५५ लाख भुक्तानी स्वीकृत दिने निर्णय गरेको छ ।
साथै, प्रदेश स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयको संगठन संरचना तथा दरबन्दी तेरिज समेत स्वीकृत गर्ने निर्णय भएको छ ।
प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय भएको मन्त्री लम्सालले जानकारी दिनुभयो । कर्मचारी पदपूर्ति, पदस्थापना तथा संसोधनका लागि लोकसेवा आयोगलाई पत्राचार गर्ने पनि बैठकमा निर्णय भएको छ । रासस