‘आर्थिक अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौँ’

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनिष झा हुनुहुन्छ ।

समितिको वर्तमान कार्यकाल सुरु भएयता ६६ वटा विभिन्न विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारी लगायतका विषयमा भने छलफल भइसकेको छ । अन्य उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायमा जवाफ माग गरिएकामा केहीको जवाफ प्राप्त भए पनि कतिपयको जवाफ प्राप्त नभएको समितिले जनाएको छ ।

समितिको आजको बैठकले बेरुजुसम्बन्धी धारणामा एकरुपता कायम गर्न समिति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सातै प्रदेशका लेखा समिति सभापति, महालेखा परीक्षक, अर्थ मन्त्रालय, महानगरपालिकाका प्रतिनिधिको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै, देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढीपहिरो, चट्याङजस्ता विपत्तिमा परेकालाई यथाशीघ्र उद्धार गरी उचित बसोबासको व्यवस्थासहित राहत सामग्री उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

बैठकमा केही सदस्यले समितिमा आएका उजुरीको छानबिन, दिइएका निर्देशन कार्यान्वयन, सोधिएका प्रश्नको जवाफ, अन्तरविधायिकी भेला, समितिको काम र कार्य जिम्मेवारीको समीक्षा गरिनुपर्ने माग गर्नुभयो । केहीले भने मुलुकमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रतिपक्षको भागमा परेको सार्वजनिक लेखा समितिको सभापति परिवर्तन हुनु आवश्यक रहेको, बैठकलाई कार्यतालिकाका आधारमा सञ्चालन गरी नतिजामुखी तुल्याउन समिति सभापतिलाई सुझाव दिनुभयो ।

बेरुजु फर्छ्यौटलाई औचित्य र कानुनसम्मत तुल्याउन आवश्यक रहेको बताउँदै उहाँहरूले राज्यका निकायमा अनियमिता र भ्रष्टाचार बढेकाले समितिले त्यस कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन अडान लिनुपर्ने सुझाव दिनुभयो ।

आर्थिक अनुशासन र अराजकताको अवस्था अन्त्य गर्न समितिले राज्यलाई सहयोग पुर्‍याउनुपर्नेमा जोड दिँदै केही सदस्यले सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा समितिले दिएका निर्देशन पालना नगर्नु संसद्प्रतिको अपमान भएको तर्क गर्नुभयो । उहाँहरूले सरकारलाई जनताप्रति उत्तरदायी र जबाफदेही बनाउन दिइएका सुझाव र निर्देशन पालन गरिनुपर्नेमा जोड दिनुभयो । रासस


ताजा खबर