युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।
नेपाल स्काउटको प्रमुख स्काउटको दीक्षान्त ग्रहण गरी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘‘देश सङ्घीयतामा गएको छ । स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक न्यायहरू हराउँदै गइरहेको छ । बालबालिकाहरूमा राम्रो प्रवृत्ति युवाहरूमा बिस्तारै खस्किँदै गइरहेको छ । विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ । केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ । अहिले स्काउटमा एक लाख २८ हजार हुनुहुन्छ । अब सात लाख पुर्याउने लक्ष्य छ ।’’
मन्त्री चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको अवस्थामा यस जिवनउपयोगि सीप सहितको यो शैक्षिक अभियान उपयोगि हुने बताउनुभएको छ । यसका लागि सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ । अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरू संशोधन भएको छ । अहिले पनि केही कुराहरू संशोधनका लागि मन्त्रालयमा पुगेको छ । त्यसमा सानो सल्लाह गर्न सकिन्छ । यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहम् भूमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भूमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्याउनसके राम्रो हुनेछ ।’’
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित, विद्यमान राष्ट्रिय कार्यकारी समितिका पदाधिकारीहरु, राष्ट्रिय परिषद् सदस्यहरु, विभिन्न स्थानीय स्काउट पालिका प्रमुख आयुक्तहरु, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउटर तथा रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । रासस