बर्षा याममा कान पाक्ने समस्या किन बढी देखिन्छ ?

~प्रा.डा. रुपेश राज जोशी

बर्षा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ। बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ। यो साझा समस्या हो। कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ।

बर्षा याममा मानिसहरु धेरै खेतबारीमा काम गर्ने गर्दछन्। उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्छ। यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरु पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन्। पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सनको सम्भावना बढी हुन्छ। कानको जाली फुटेको रहेछ भने त इन्फेक्सनको सम्भावना अझ बढी हुन्छ।

पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ। बर्खाको समयमा कानका समस्याहरु आउने गरेका छन्। बच्चाहरुले ठूलो स्वरमा टीभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ। यस्तो अवस्थामा कानको जाँच गर्नुपर्छ।

पछिल्लो समय ॐ हस्पिटलमा कानसँगै नाकका बिरामी समेत बढी आउने गरेका छन्। नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरु यस अस्पतालमा आउने गरेका हुन्। घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन्।

कानको रोगका लक्षण
कान चिलाउने , कान अत्यधिक मात्रामा दुख्ने, कान डम्म हुने,  कान भित्रबाट पिप वा पानी बग्ने लक्षण देखिए कान पाकेको निर्क्यौल गर्न सकिन्छ ।

अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले बडले कान कोट्याउने गरेको पाइन्छ। यसरी अनावश्यक रुपमा औषधि, तेल वा कान कोट्याउँदा कानको जाली फुट्ने समस्या हुन्छ।

उपचार विधि
कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककहाँ गएर देखाउनुपर्ने हुन्छ। कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ। यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ।

कसरी बच्ने?
– पौडी खेल्न जाँदा एयर प्लग लगाउने।
– पौडी खेल्दा कान छोप्ने।
– डाइभ भरसक नगर्ने।
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन। धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढंगले हटाउनुपर्छ। बडले कानेगुजी हटाउँदैन। बडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ। त्यसैले बडको प्रयोग नगर्नु राम्रो हुन्छ।

कानले कानेगुजी आफैँ सफा हुने मेकानिजम बनाएको हुन्छ। कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफै फाल्छ। यस्तै, कान पाक्ने समस्या सम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी छ।

(बरिष्ठ नाक, कान, घाँटी विशेषज्ञ प्रा.डा. जोशी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ )


ताजा खबर