~शोभा पाण्डेय/सिलवाल
रिसमा पनि स्नेह र, गालीमा नि ताली
नातामध्ये बाउमा मात्र , यस्तो पाइने खाली ।
दिन रात क्यै नभनी, काम गर्ने धेरै
स्वप्नामा नि सन्तान कै, हित चिताउने बरै ।
आफ्नो खुसी ढुसी पार्दै ,मेरो खुसी किन्ने
बुबा नै हुन् महान् व्यक्ति ,मैले धेरै चिन्ने ।
आफ्नो दुःख कसैसँग ,नसाट्ने हुन् बुबा
सन्तानका लागि सधैँ, देवादिदेव बुबा ।
आफन्त र नाता हाम्रा ,जति पनि पाइने
हजार गल्ती माफ ,गर्ने बुबा नपाइने ।
बुबा सम्मानका पात्र ,सदा छाया बनी
जसको आश्रयमा , हामी सदा निदाउनी ।
आज म जे जस्तो छु,यो तिम्रै हो देन
कहिल्यै तिर्न म सक्दिनँ, बुबा तिम्रो ऋण ।
मैले हिँड्ने पथ तिम्ले,ठेला उठाइ खन्यौ
मेरो शक्ति ,पहिचान र,पूजा तिमी बन्यौ ।
कमाइ तिम्रो हुँदाखेरि ,जीवन थियो राम्रो
आफ्नो कमाईमा त बुबा, जीवन भयो चाम्रो ।
जिउँदो छँदा सेवा गरौँ, नगरौँ न हेला
सित्तै पाइने बाउको माया, अपूर्व नै होला ।
उपहार नि हजुरलाई ,दिने हैसियत त
छैन मेरो तैपनि, लेखेँ दुई शब्द त ।
हजुरको महत्तालाई ,व्याख्या गर्ने शक्ति
बबुरो म सन्तानमा, के हुन्थ्यो र ? त्यत्ति ।
बुबाहरूप्रति मेरो, नतमस्तक शिर
शुभकामना ! हजुरलाई ,नलिनुस् है पिर ।