अन्तरबैंक फुटसल ग्लोबल आई.एम.ईं. बैंकले जित्यो

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तरबैंक फुटसल टुर्नामेण्ट-२०८१ सम्पन्न भएको छ ।

धनयन्तरी फुटसल हब, हाडीगाँउ, काठमाण्डौमा असोज ३ देखि ५ सम्म संचालन भएको टुर्नामेण्टको पुरुष र महिला दुवै समूहतर्फ ग्लोबल आई.एम.ईं बैंक लि.विजेता भएको छ ।

पुरुष तर्फको फाईनल खेलमा ग्लोबल आई.एम.ईं बैंक लि.ले गरिमा विकास बैंक लि.लाई १-० गोलले पराजित गर्दै टुर्नामेण्टको विजेता भएको हो भने महिला तर्फको फाईनल खेलमा ग्लोबल आई. एम. ई. बैंक लि.ले एन. आई. सी. एसिया बैंक लि. लाई १–० गोलले पराजित गर्दैे उपाधि रक्षा गर्न सफल भएको हो ।

टुर्नामेण्टको उत्कृष्ट खेलाडी पुरुष समूह तर्फ ग्लोबल आई.एम.ईं बैंक लि.का शशाङ्क निरौला, महिला समूहतर्फ ग्लोबल आई एम ई बैंकका चन्द्रिका भट्ट हुनुभएको थियो भने सर्वाधिक गोलकर्ता पुरुष समूह तर्फ ग्लोबल आई.एम.ईं बैंक लि.का शसाङ्क निरौला, महिला समूहतर्फ लुम्बिनी विकास बैंक लि.का उर्मिला श्रेष्ठ हुनुभएको थियो । त्यसै गरी खेलको उत्कृष्ट गोलरक्षक पुरुष समूह तर्फ गरिमा विकास बैंक लि.का सौगात दिप सिंह र महिला समूहतर्फ ग्लोबल आईएमई बैंकका केश माया गुरुङ्ग हुनुभएको थियो ।

खेलका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई मेडल, ट्रफी प्रमाण पत्रको साथै नगद रु.दश हजार पुरस्कार प्रदान गरिएको थियो भने खेलका विजेता र उपविजेता प्रत्येक टिमलाई क्रमशः रु.एक लाख र रु.पचास हजारका साथ मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको पुरस्कार वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो  ।

समापन समारोहमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल र नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले बधाई मन्तव्य दिनुभएको थियो भने समारोहका अध्यक्ष प्रकाश पोख्रेलले धन्यवाद मन्तव्य दिँदै कार्यक्रम समापन गर्नुभएको थियो  ।

टुर्नामेन्टको हस्पिटल पार्टनरका रुपमा काडमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. रहेको थियो । अस्पतालले खेल स्थलमा चिकित्सक र नर्स सहितको मेडिकल टिम तैनाथ गरी एम्बुलेन्स र आकस्मिक तथा प्राथमिक उपचार सामग्री तथा औषधिहरु तयार अवस्थामा राखि घाइते खेलाडिलाई तत्काल मेडिकल सपोर्ट उपलब्ध गराएको थियो  ।  रासस


ताजा खबर