रत्नपार्क पुलछेउ

रत्नपार्क पुलछेउ
ग्राहक प्रतीक्षामा रहेकी नगरबधु
हरेक नौजवानलाई आफ्नो ग्राहक सम्झन्छे
त्यतैतिरको पठाओवाला
हरेक मान्छेलाई आफ्नो यात्रु ठान्छ
त्यतै पेटीमा बसेको मगन्ते
हरेक बटुवालाई आफ्नो दाता ठान्छ
यत्रतत्र ढुकिरहेका पाकेटमार
गतिलो गोजी चिहाइरहन्छन् ।
उहिले रत्नपार्कभित्र रूखमा चढेर
मुकुन्द ल्यान्डको सपना बाँडिरहन्थ्यो मुकुन्दे
बदाम, चटपटे र मासु बेच्नेहरू त्यतै
हल्ला गरिरहेका हुन्थे
सहचालकहरू अहिले पनि गन्तव्य कुर्लंदै
हरेकलाई बोलाइरहेका हुन्छन् ।
दिनका दिन यी यावत् व्रिmयाकलाप
भुक्तभोगी छ रत्नपार्क
सबको धन्दा चलिरहेछ यहाँ
अप्सराहरू श्रापमोचन गर्न आएका हुन् कि
या जीवन धान्न गरिएको कृत हो त्यो ?
देहव्यापार न रहर हो, न पेसा हो पाकेटमारी
भीख माग्नु पनि कहाँ रहर हो ?
नवयौवनाहरूको कृत्य पनि बैँसको बाध्यता होला ।
कठोर छ रत्नपार्क, निष्ठुरी छ
घण्टाघरको समयको गर्जनले
खलबल्याउँदैन ती सबको धन्दा
सडक व्यापारीको कुर्लाइ
शान्ति उद्यानको नाराबाजी
सहचालकको होहल्ला
नगरबधूका नखरा
बलात्कृत युवतीको चित्कार…
कुनैलाई डिस्टर्ब छैन, घण्टाघरको घण्टीले ।
मकै पोलिरहेकी सुन्तलीका लागि
आफ्नो जिल्ला सदरमुकाम टाढा छ
रत्नपार्क नजिक छ
जहाँदेखि बरु स्वर्ग नजिक होला
सिंहदरबार अझ टाढा छ
जीवन साथीको प्रेम दुर्लभ छ
यौनपिपासुुको तृष्णा धारिलो छ
ग्राहक सुलभ छन् ।
आकासे पुलले सडकका दुई किनारा जोड्छ नै
कैयौँ सम्बन्ध पनि जोड्दो रहेछ
रानीपोखरीको सफा पानीमा
सिसी क्यामेरामा कैद भए जस्तै
असङ्ख्य घटनापरिघटना कैद छन्
पोखरी अवाक छ
नजिकै रहेको प्रहरीको महानगरीय वृत्त
सद्दे मानिसको पहारा गर्छ
धेरै चिज आफ्नै आँखाले देखे पनि
देख्ने छुट छैन
प्रताप मल्लको जहानले पहरा गरून्
या गणेशमान सिंहले लौरो उठाइरहून्
स्वयं रत्ना महारानी त्यही बसे पनि
सबका धन्दा खुलेआम छन्
त्रासदी र अपराध कहिल्यै कम भएन ।
निकै चहलपहल हुन्छ
काठमाडौँको मुटु रत्नपार्क छेउमा
सायद काठमाडौँ स्वयं अनविज्ञ छ
के हुँदै छ रत्नपार्क पुल छेउ ?


ताजा खबर