तिहार : चाड यो फूलैफूलको

           ~ शोभा सिलवाल/पण्डेय

प्रकृति र जनावर अनि मानव बिचको
घनिष्ट सम्बन्ध छ  ,चाड फूलैफूलको ।
भड्किलो र महँगो नबनाई चाड
हामी सबले घाँटी हेरी  निलौँ सधैँ हाड ।
चाडबाड मनाउँदा नदेखाई फूर्ति
परम्परा जोगाई सदा राखौँ आफ्नो  कृति ।
म र मेरो मात्र भन्ने  भावना चाहिँ हटोस्
हामी ,हाम्रो जस्ता सोचले जरा गाडिरहोस् ।
हिँड्दा खेरि ठेस नलागोस् नझरोस् है केश
निरन्तर प्रगति होस् बनून् सबै बेस ।
दूबो जस्तै मौलाई रहून् हाम्रा दाजुभाइ
समृद्ध र अर्थपूर्ण बनोस् जीवन सधैँ ।
दिन दुगुना रात चौगुना प्रगति होस् तिम्रो
ईश्वर सदा दाहिना होऊन् कामना छ हाम्रो ।
सादा जीवन उच्च विचार राख्न सके तिम्ले
दम्भ र अहङ्कारलाई नअँगाले कैल्यै ।
सगरमाथा चुम्न तिम्रा पाइला अघि सरोस्
परिश्रमलाई पूजा गर्ने बानी सधैँ परोस् ।
महान् लक्ष्य लिई तिमी अघि बढ सदा
यमसँग माग्छु वरदान ज्यादा भन्दा ज्यादा ।
धन्यवाद

ताजा खबर