विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय जन्ती जनकपुरधाम आउने भएका छन्।
आइतबार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षीय बैठकमा सो जानकारी गराइएको हो।
विवाहपञ्चमी महोत्सवबारे जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने बताए। जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने उनको भनाइ छ।
उनले भने, ‘यसपालि विवाहपञ्चमी महामहोत्सवमा विगतको पाँच वर्षपछि यस वर्ष पनि विवाह महोत्सवमा विधिवत जन्ती आउने कार्यक्रमहरू छ। यो २०६१ सालदेखि सुरु भएको हो। यो चौथोपटक हो। जसमा पाँच सयको हाराहारीमा जन्ती विभिन्न ठाउँमा बास बस्दै आउनुहुनेछ।’
उनका अनुसार, जन्तीहरू जनकपुरमा १७ गते प्रवेश गर्नेछन्। २२ गतेसम्म जनकपुरमा बस्नेछन्। सात दिवसीय कार्यक्रममा उनीहरूलाई रामायणकालीन विवाह अवलोकन गराइनेछ।