गोकर्ण गल्फ क्लबको कोर्समा सोमबार सूर्य नेपाल सेन्ट्रल ओपनको टिअफसँगै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु हुने भएको छ।
चार दिनसम्म चल्ने सिजनको पहिलो प्रतियोगितामा ७२ होलको प्रतिस्पर्धा हुनेछ। दुई दिनमा १८ होलको खेल सकिएपछि बाँकी दुई दिनका लागि शीर्ष २१ व्यावसायिक तथा तीन एमेच्योर खेलाडीको छनोट (कट) हुनेछ। कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक गल्फर नगद पुरस्कारको हकदार बन्नेछन्।
कुल ७ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा ४३ व्यावसायिक र ११ एमेच्योर गरी ५४ खेलाडीले भाग लिएको व्यावसायिक गल्फरहरुको छाता संगठन एनपिजिएले जनाएको छ। एनपिजिएले आइतबार जनाएअनुसार प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ८० हजार रुपैयाँ पर्नेछ। यसैगरी तेस्रो हुनेले ५८ हजार रुपैयाँ पाउनेछ।
नयाँ सिजनमा आठ व्यावसायिक प्रतियोगिता सूर्य नेपाल गल्फ टुरको नयाँ सिजनमा एनपिजिएले आठ प्रतियोगिता गर्ने भएको छ।
सोमबार पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सुरु हुनेछ भने जनवरी २१ देखि २४ सम्म धरानको निर्वाणा गल्फ एन्ड कन्ट्री क्लबमा सूर्य नेपाल इस्टर्न ओपन हुनेछ। त्यस्तै फेब्रुअरी १२ देखि १५ सम्म पोखराको हिमालयन गल्फ क्लबमा सूर्य नेपाल वेस्टर्न ओपन हुनेछ। एनपिजिएले गर्ने तीनवटै प्रतियोगितामा ७ लाखका दरले पुरस्कारको व्यवस्था गरिएको छ।
यसैगरी रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)मा सूर्य नेपाल च्यालेन्ज् र सूर्य नेपाल काठमाडौं ओपन आयोजना गरिनेछ। सूर्य नेपाल च्यालेन्जमा ४ लाख ७० हजार तथा काठमाडौं ओपनमा ५ लाख ८० हजार पुरस्कार राखिएको एनपिजिएका महासचिव दीपक आचार्यले जानकारी गराएका छन्।
गोकर्ण फरेष्ट क्लबका वरिष्ठ गल्फ निर्देशकसमेत रहेका आचार्यका अनुसार गोकर्णको आकर्षक कोर्समा तीन प्रतियोगिता हुने पक्का भइसकेको छ भने चौथो प्रतियोगिता पनि गर्न सकिनेछ।
गोकर्णमा सेन्ट्रल ओपनसँगै १३ लाख २५ हजार पुरस्कार राशकिो सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप र ७ लाख पुरस्कार राशीको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गर्ने पक्का भइसकेको छ भने ५ लाख रुपैयाँ पुरस्कार राखिएको पाइलट गल्फर्स एनपिजिए क्लासिक पनि हुन सक्नेछ। पाइलट गल्फर्स एनपिजिए क्लासिक गोकर्ण वा आरएनजिसीमध्ये कहाँ गर्ने भन्ने निर्णय भइनसकेको जनाइएको छ।
सेन्ट्रल ओपन, इस्टर्न ओपन र वेस्टर्न ओपनवाहेक अन्य प्रतियोगिताको मिति तय भइसकेको छैन भने सबै आठ प्रतियोगिताको कूल पुरस्कार राशी ५५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ हुनेछ।