गरिमा रोड रेसमा मुकेश र सन्तोषी बने च्याम्पियन

नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन् ।

गरिमा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा शनिवार आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिन् । ३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेस्रो बने । एपीएफकाद्वय आशा रावत र फुलमति राना क्रमशः चौथो र पाँचौं भए ।

 

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि. का मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोस्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेस्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मडरल्यान्ड सेक्युरिटी प्रा.लि. का विशाल भण्डारी तामाङले पाँचौं स्थानमा दौड टुंगाए ।

सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोस्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेस्रो भए । नरेन्द्रसिंह रावल चौथो तथा अजितकुमार यादव पाँचौं स्थानमा रहे । दोस्रोदेखि चौथो स्थानमा रहने खेलाडी पनि आर्मीकै हुन् भने अजित नेपाल प्रहरीका हुन् ।

सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल, सानिमा रिलायन्सकी स्वस्तिका कार्की र श्रीशा भण्डारी, महालक्ष्मी विकास बैंककी संगिता लामा तथा गरिमा विकास बैंककी निर्मला कुमालले क्रमशः पहिलोदेखि पाँचौं स्थान हात पारे ।

चारै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजारका दरले नगद पुरस्कार पाए । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

विजेताहरुलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक बिकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमा बिकास बैंकका निर्देशक डा. आनन्द प्रसाद श्रेष्ठ, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो ।

रोड रेसमा मेडिकल पार्टनरका रुपमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. रहेको थियो भने बैद्य अर्गनाइजेशनको – टोयोटा र फोन पेले पनि प्रयोजकको रुपमा साथ दिएका थिए ।


ताजा खबर