एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्ध शतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोडे । यस क्रममा उनले ३३ बल खेल्दै दुई चौका प्रहार गरे । कप्तान अनिलकुमार साहले पाँच रनको योगदान दिए । आशिफ शेख शून्य रनमै पवेलियन फर्किए ।

बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाडी क्रिस सोले र प्रतिश जिसीले एक /एक विकेट लिए । विराटनगरले जनकपुर बोल्ट्सलाई २२ रन अतिरिक्त दिएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्ध शतक पारी खेले । उनले ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाए ।

यस्तै अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलमे पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात÷सात रन बनाए ।

बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष थाकरेले समान दुई / दुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक एक विकेट लिए । रासस


ताजा खबर