मंसिर १ गते देखि सुरु भएको प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
जिल्लाका १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बसेको बैठकले १६ वटै पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रत्येक पाँच-पाँच बर्षमा लाग्ने गढीमाई मेला बाराको महागढीमाई नगरपालिका बरियारपुरमा लाग्दै आएको छ । मेलालाई अवलोकन गर्नको लागि पालिकाहरुले चारदेखि लिएर पाँच दिनसम्म स्थानिय चाड पर्व बिदा अन्तर्गत बिदा गरेका हुन् ।
बैठकपछि गढीमाई मेलाको लागि जीतपुरसिमरा, कलैया उपमहानगरपालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय, सम्पूर्ण कार्यालयहरु ,शैक्षिक संस्थाहरु,संघ संस्थाहरु, बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द विदा दिएको छ ।
गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ । शनिवारदेखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ । बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।
यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा रहने बारे सुचना मार्फत नगरबासिलाई जानकारी दिइसकेको छ । जिल्लाका अन्य पालिकाहरुले पनि निर्णय अनुसार विदा बारे सुचना प्रकाशन गरी रहेको पालिकाहरुले जनाएका छन् ।