विवाह पञ्चमी अन्तर्गत स्वयंम्बर सम्पन्न

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबिच निस्केको डोला रंगभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीन पटक प्रदशिक्षण गरेर भगवानको स्वयंम्बर सम्पन्न भएको हो ।

साँझदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतिकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

तत्कालीन मिथिलाका राजा जनकले गर्नु भएको प्रतिज्ञा अनुसार अयोध्याका नरेश राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पीनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो ।

धनुषमा प्रत्यञ्चा चढाएपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव सप्ताहव्यापी रुपमा मनाउने चलन रहेको छ । रासस


ताजा खबर