श्रममन्त्री र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिनुभयो ।

उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो ।

त्यसैगरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, सीप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढङ्गबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ ।

मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गर्नुभएको थियो । राजदूत योले नेपाली कामदारहरूको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताउनुभयो  ।

आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


ताजा खबर