~ शोभा पाण्डेय/सिलवाल
हामीलाई जन्म दिने ,जिउँदी आमा देवी
अहोरात्र खट्छिन् ,सधैं बनाउन वेदी ।
निस्वार्थ कै प्रतिमूर्ति , आमा तिमी महान्
सर्वार्थकी सागर तिमी,छौ नि साह्रै बलवान् ।
गाँस ,बास,कपास,बनी सन्तानका लागी
थङथिलो हुँदा पनि जान्नन् कतै भागी ।
सामाजिक ,मानसिक,शारीरिक रूपमा
सुदृढ पार्न सधैँ तत्पर, हुने हाम्री आमा ।
आफ्ना लागि केही नमाग्ने,आमा हाम्रा लागि
जो सँग नि झुक्छिन् उनी, आत्मसम्मान त्यागी ।
काँडैकाँडा घारी बिचमा, फुल्ने मेरी आमा
सृष्टि कै सुन्दर नाता , हौ नि तिमी आमा ।
खलिफा हौ जीवनकी, कल्पवृक्ष तिमी
तिम्रै काखमा रमाउँछौँ, जीवन भर हामी ।
खोलेफाँडो आफू खाई,खिर हाम्लाई खुवाउँदा
पाप लाग्छ ती सन्तानलाई, जननीलाई रुवाउँदा ।
सरापभित्र आशिष् अनि ,गालीभित्र ताली
कसैबाट नपाइने, दिने सन्तान वाली ।
आशिर्वाद देऊ आमा ,असल भएस् जहिल्यै
अरू कुरा फेरि पाइन्छ, आमा पाइन्न कहिल्यै ।
सफल यति बन्छु आमा,हर्षाश्रु झार्ने
कर्म गर्छु अवश्य नै, संसारलाई तार्ने ।
कोसौँ दूर भए पनि ,सन्ताप मेरै गर्ने
कालैसँग लड्न परे ,पनि अघि सर्ने ।
बोली मलिन सुनेर नै, पीडा मनको बुझ्ने
एकै वचन बोल्दा पनि ,कष्ट जति हर्ने ।
अखण्ड दीप आमा हुँदा, घर उज्यालो हुने
बेघर नहुन् कोही पनि ,हाम्लाई जन्माउने ,हाम्लाई जन्माउने ।