वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइतलाई जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ । जगदीश घिमिरे प्रतिष्ठानले साहित्यकार स्वर्गीय घिमिरेको जन्मथलो रामेछापको मन्थलीमा सोमबार आयोजित एक कार्यक्रममा डा. रुइतलाई नगद र सम्मानपत्रसहित सम्मान गरेको हो ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले रुइतलाई सम्मान पत्र सहित ५१ हजार नगद पुरस्कार हस्तान्तरण गरे।
पुरस्कार ग्रहण गर्दै डा. रुइतले स्वर्गीय घिमिरेको अगुवाईमा तिलगंगा आंँखा केन्द्रले फड्को मारेको स्मरण गरे। समाजसेवा, साहित्य र अन्य समसामयिक विषयमा स्वर्गीय घिमिरेको योगदानको डा. रुइतले स्मरण गरे।
स्वर्गीय घिमिरे तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्ष थिए। कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष तथा जगदीशकी श्रीमती दुर्गा घिमिरेको अध्यक्षतामा भएको थियो। –सफल नेपाल, रामेछाप