काठमाडौं, चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र कमलादी स्थित हिमालयन बैंक लिमिटेडबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विशेष छुट र प्राथमिकता सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार हिमालयन बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक, बैंकका कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपचार गर्दा बिशेष छुट पाउनेछन्। सो छुट आँखा उपचार, दाँत उपचार लगायतका आउटसोर्स सेवा र ओपीडी टिकट शुल्कमा भने लागू नहुने बैकद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।
यसैगरी, बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचारमा प्राथमिकता दिँदै ॐ अस्पतालले ‘फास्ट ट्र्याक मेडिकल सर्भिस’ उपलब्ध गराउने र ओपीडी, आईपीडी, डे–केयर तथा सहज आपतकालीन छिटो सेवा प्रदान गरिने जनाइएको छ।
सम्झौताअनुसार हिमालयन बैंकले ॐ हस्पिटलका कर्मचारी तथा चिकित्सकहरूका लागि प्रिपेड, क्रेडिट तथा अमेरिकन एक्सप्रेस कार्ड सेवा उपलब्ध गराउनेछ। साथै, अस्पतालमा गरिने भुक्तानीका लागि क्रेडिट कार्डमार्फत किस्ताबन्दी (ईएमआई) सुविधा, डिजिटल भुक्तानी प्रणाली, वित्तीय साक्षरता कार्यक्रम तथा कर्जा सम्बन्धी परामर्श सेवासमेत प्रदान गरिनेछ।
ॐ हस्पिटलले आफ्नो व्यवसाय प्रवर्द्धन तथा सेवाग्राहीमैत्री नीतिअनुसार देशका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै कर्मचारी र ग्राहकहरूका लागि सरलिकृत सेवा, प्राथमिक उपचार सुविधा र शुल्कमा विशेष छुट उपलब्ध गराउँदै आएको जनाएको छ।
दुवै संस्थाले आपसी गोपनीयता कायम राख्दै सेवा प्रभावकारी कार्यान्वयनका लागि आ–आफ्ना फोकल पर्सन तोक्ने सहमति गरेका छन्। यस सहकार्यबाट बैंकका ग्राहक, कर्मचारी तथा अस्पतालका सेवाग्राहीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ।
सम्झौतामा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत याम बहादुर महत र हिमालयन बैंकका एक्जुकेटिभ मार्केटिङ म्यानेजर भोला बिष्टले हस्ताक्षर गर्नुभएको छ।
सहकार्यले स्वास्थ्य सेवा र बैंकिङ सुविधाबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा दुबै संस्थाले गरेका छन्।




















