समानुपातिक सांसदका लागि दलहरूले नामावली बुझाए

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाबाट समानुपातिक सांसद सिफारिस; आयोगको स्वीकृतिपछि मात्र अन्तिम घोषणा हुने

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत थ्रेसहोल्ड पार गरेका प्रमुख राजनीतिक दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली क्लस्टर मिलाएर निर्वाचन आयोग मा पेस गरेका छन्।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ निर्वाचित हुने सम्भावित सांसदहरूको नाम आयोगमा बुझाएका हुन्।

आयोगले यसअघि फागुन २८ गतेसम्म क्लस्टर मिलाएर नामावली पेस गर्न दलहरूलाई पत्राचार गरेको थियो। आयोगले सूची स्वीकृत गरेपछि समानुपातिक प्रणालीमार्फत सांसदहरू निर्वाचित हुनेछन् र उनीहरूले प्रमाणपत्र प्राप्त गर्नेछन्।

रास्वपाबाट ५७ जनाको सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाले का अनुसार खसआर्यबाट १७, जनजातिबाट १६, मुस्लिमबाट ३, दलितबाट ८, मधेसीबाट ९ तथा थारूबाट ४ जना सिफारिस गरिएको छ। पार्टीले सिफारिस सूची आयोगमा बुझाउने तयारी गरेको जनाएको छ।

एमालेबाट १६ जनाको सूची

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले समानुपातिकतर्फ पाउने सिटअनुसार १६ जनाको सूची आयोगमा बुझाएको छ।

केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्य का अनुसार सम्भावित सांसदहरूको सूची आइतबार आयोगमा बुझाइएको हो।

एमालेले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा र कुलभक्त शाक्यलाई सिफारिस गरेको छ। महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल तथा पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेलको नाम सिफारिस गरिएको छ।

त्यस्तै थारू पुरुषतर्फ कृपाराम राना, दलित महिलातर्फ विष्णुमाया विक र नीता घतानी, मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डल तथा मुस्लिमतर्फ साजिदा सिद्धिकीलाई सिफारिस गरिएको छ।

नेकपाबाट ९ जनाको नाम

नेपाल कम्युनिष्ट पार्टी ले समानुपातिकतर्फ ९ जना सांसदको नाम आयोगमा सिफारिस गरेको छ।

सिफारिस सूचीमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजातिबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गता समूहबाट प्रेमबहादुर बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन्।

कांग्रेसबाट २० सांसद चयन

नेपाली कांग्रेस ले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार २० सिटमध्ये १५ जना महिला अनिवार्य रूपमा समावेश गरिएको छ।

संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो। कांग्रेसले आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६ तथा अन्य समूह मिलाएर बाँकी सांसद चयन गरेको जनाएको छ।

श्रम संस्कृति पार्टीबाट चार जना

श्रम संस्कृति पार्टी ले समानुपातिकतर्फ क्लस्टरअनुसार चार जनाको नाम आयोगमा पेस गरेको छ।

पार्टीका उपाध्यक्ष लोकनाथ चुडाल का अनुसार मधेसी महिलाबाट रुवीकुमारी ठाकुर, दलित महिलाबाट राधिका रम्तेल, खसआर्य महिलाबाट अम्बिकादेवी सङ्ग्रौला खड्का तथा आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू चयन भएका छन्।

राप्रपाबाट चार जनाको नाम टुङ्गो

राष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि चार जनाको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

निर्णयअनुसार खसआर्य पुरुषतर्फ भरत गिरी, महिलातर्फ खुस्बु ओली, मुस्लिम पुरुषतर्फ ताहिर अली र जनजाति महिलातर्फ सरस्वती लामाको नाम चयन गरिएको छ।

यस निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र जितेको थियो भने समानुपातिकतर्फ ३.६ प्रतिशत मत प्राप्त गर्दै चार सिट पाएको छ। अघिल्लो निर्वाचनमा भने राप्रपाले प्रत्यक्षतर्फ सात सिट र समानुपातिकतर्फ पनि सात सिट जितेको थियो। अहिलेको निर्वाचनमा भने पार्टीको सिट संख्या घटेको छ।


ताजा खबर