तनाव र नकारात्मक सोचले मुटुलाई गर्छ गम्भीर असर

डा. अशोक पौडेल 

इन्टरभेन्सनल कार्डियोलोजिष्ट

सतहमा नदेखिए पनि भित्रभित्रै धेरैलाई कमजोर बनाउँदै लैजाने ठूलो समस्या हो – तनाव। बाहिरबाट हेर्दा मानिस सामान्य देखिन्छ, आफ्नो दैनिक काममा व्यस्त हुन्छ, तर मनभित्र भने चिन्ता, डर र दबाबको भारी बोकेर हिँडिरहेको हुन्छ। यही अदृश्य बोझले विस्तारै शरीरलाई कमजोर बनाउँदै लैजान्छ।

नकारात्मक सोच, चिन्ता, रिस वा निराशा केवल दिमागसँग सम्बन्धित विषय मात्र होइन, यसले मुटुको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ। लगातार तनावमा रहँदा मुटुको धड्कन बढ्छ, रक्तचाप उच्च हुन्छ र शरीर सधैं सतर्क अवस्थामा रहन बाध्य हुन्छ। यस्तो अवस्था लामो समयसम्म रहिरहँदा मुटुमा समस्या हुने जोखिम बढ्दै जान्छ।

दिमागले शरीरलाई नियन्त्रण गर्ने भएकाले जब नकारात्मक सोच उत्पन्न हुन्छ, शरीर ‘तनाव मोड’ मा प्रवेश गर्छ। यस अवस्थामा मुटुले सामान्यभन्दा बढी काम गर्नुपर्छ। छोटो समयका लागि यस्तो अवस्था सामान्य भए पनि जब दैनिक जीवनका समस्या—जस्तै कामको दबाब, आर्थिक चिन्ता, पारिवारिक तनाव, सामाजिक सञ्जालका नकारात्मक प्रभाव वा विगतका दुःखद् अनुभव—लगातार मनमा बसिरहन्छन्, त्यसले मुटुमा दीर्घकालीन असर पार्न थाल्छ।

विशेषगरी रिस, क्रोध, घृणा र द्वेषजस्ता भावनाले शरीरको ‘फाइट वा फ्लाइट’ प्रणालीलाई अत्यधिक सक्रिय बनाउँछन्। यस क्रममा शरीरमा एड्रिनालिन, कोर्टीसोल र नोरएड्रिनालिन जस्ता तनाव हर्मोनहरूको स्तर बढ्छ। परिणामस्वरूप मुटुको धड्कन तीव्र हुन्छ, रक्तचाप बढ्छ र रक्तनलीहरू संकुचित हुन्छन्। लामो समयसम्म यस्तो अवस्था रहिरहँदा रक्तनलीको भित्री तहमा क्षति पुग्छ, जसले रक्तप्रवाह घटाउँछ र मुटु सम्बन्धी रोगको जोखिम बढाउँछ।

विभिन्न अध्ययनहरूले पनि दिमाग र मुटुको सम्बन्धलाई स्पष्ट देखाएका छन्। सन् २०२३ मा अमेरिकन हार्ट एसोसिएसनले गरेको अध्ययन अनुसार डिप्रेसन, चिन्ता र दीर्घकालीन तनावले मुटु रोगको जोखिम करिब ३५ प्रतिशतसम्म बढाउन सक्छ। त्यसैगरी, ब्रिटिस हार्ट फाउन्डेसनको अध्ययनले पनि काम वा घरको तनावले मुटु रोग र स्ट्रोकको जोखिम बढाउने देखाएको छ। अझ रोचक कुरा के छ भने, क्रोधको छोटो झट्काले पनि करिब ४० मिनेटसम्म रक्तनलीको फैलने क्षमता घटाउँछ, जसले मुटुमा अक्सिजन पुग्ने मात्रा कम गर्छ।

यदि नकारात्मक सोच र तनाव दीर्घकालीन रूपमा रहिरह्यो भने मुटु निरन्तर दबाबमा पर्छ। यसले उच्च रक्तचाप निम्त्याउन सक्छ, रक्तनलीहरू बिस्तारै बन्द हुन थाल्छन् र अन्ततः हार्ट अट्याक वा स्ट्रोकको खतरा बढ्छ। अझ यदि व्यक्तिलाई पहिले नै मधुमेह, उच्च रक्तचाप वा उच्च कोलेस्टेरोल जस्ता समस्या छन् भने नकारात्मक सोचले जोखिम झन् दोब्बर बनाउँछ।

यस्ता अवस्थामा केही लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन। छातीमा दुखाइ वा दबाब महसुस हुनु, सास फेर्न गाह्रो हुनु, मुटुको धड्कन अनियमित हुनु, अत्यधिक थकान, चक्कर लाग्नु, चिसो पसिना आउनु वा हातमा दुखाइ हुनुजस्ता संकेत देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। समयमै परीक्षण—जस्तै इसिजी, इको वा रगत जाँच—मार्फत मुटुको अवस्थाबारे जानकारी लिन सकिन्छ।

तनाव र नकारात्मक सोचलाई नियन्त्रण गर्न दैनिक जीवनमा साना तर प्रभावकारी बानीहरू अपनाउन सकिन्छ। नियमित रूपमा गहिरो सास फेर्ने अभ्यास वा ध्यान गर्दा मन शान्त हुन्छ। दैनिक करिब ३० मिनेट हिँड्ने वा हल्का व्यायामले शरीरलाई सक्रिय राख्छ र मानसिक भार कम गर्छ। नकारात्मक विचार आउँदा त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दै सकारात्मक सोच विकास गर्नु पनि आवश्यक हुन्छ।

त्यसैगरी, आफ्ना भावना मनमै दबाएर नराखी परिवार वा साथीहरूसँग साझा गर्नु मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ। स्वस्थ आहार, पर्याप्त निद्रा र सामाजिक सञ्जालको सन्तुलित प्रयोगले पनि मनलाई शान्त राख्न मद्दत गर्छ। यदि यी उपायहरू अपनाउँदा पनि तनाव कम नहुने अवस्था भएमा मनोचिकित्सक वा काउन्सेलरसँग परामर्श लिनु उपयुक्त हुन्छ।

समयमै ध्यान दिइएमा तनाव र नकारात्मक सोचलाई नियन्त्रण गर्न सकिन्छ। दिमाग स्वस्थ राख्न सके मात्र मुटु पनि स्वस्थ रहन्छ भन्ने कुरा बुझ्नु आजको आवश्यकता हो।


ताजा खबर