सूचीकरण भएका स्वास्थ्य संस्थाबाट गरिएको स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएका श्रमिक मात्रै वैदेशिक रोजगारीमा जान योग्य हुन्छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मान्यता प्राप्त स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने निर्णय गरेको छ ।
१७ चैतमा श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री दीपककुमार साहले यस विषयमा निर्णय गर्दै वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सरकारबाट स्वीकृति प्राप्त वा सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाको लागि सूचीकरण हुन पाउने निर्णय गरेको हो ।
मन्त्रालयले सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । हाल २५० वटा स्वास्थ्य संस्था र सरकारी अस्पतालबाट पनि श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको छ । मन्त्रालयले यसमा संख्या बढाउन लागेको हो ।
सूचीकरण भएका स्वास्थ्य संस्थाबाट गरिएको परीक्षणमा उत्तिर्ण भएका श्रमिक मात्रै वैदेशिक रोजगारीमा जान योग्य हुन्छन् ।
गन्तव्य देशहरूले नेपालसहित स्रोत देशबाट लैजाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण हुनुपर्ने प्रमुख सर्त राख्दै आएको छ ।
यसका लागि प्रमुख गन्तव्य देशहरूले आफ्नो देशको स्वास्थ्य मापदण्ड (एसओपी) पुरा गरेका सूचीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गरिएको स्वास्थ्य रिपोर्टलाई मात्रै मान्यता दिँदै ‘रोजगार भिसा’ जारी गर्ने गरेको छ । रासस
























