भारतीय समकक्षीको निम्तोमा उचित समयमा भारत भ्रमण

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणबारे नेपाल र भारतबीच सैद्धान्तिक सहमति बने पनि भ्रमण तत्काल नहुने स्पष्ट भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देशमार्फत भ्रमणको निम्तो दिनुभएको थियो, जसको जवाफमा प्रधानमन्त्री शाहले ‘उचित समयमा भ्रमण गर्ने’ उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको छलफलमा पनि भ्रमणबारे सहमति भएको भए पनि मिति तय गर्न अझै तयारी आवश्यक रहेको छ।

मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भएको साइडलाइन भेटमा नेपालमा नयाँ सरकार गठनपछिका प्राथमिकता र परराष्ट्र नीतिबारे विस्तृत छलफल भएको थियो।

मन्त्री खनालका अनुसार नेपाल–भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गरी प्राथमिकता निर्धारण गरेपछि मात्र उच्चस्तरीय भ्रमण अघि बढाइनेछ।

दुवै देशबीच रहेका ४० भन्दा बढी द्विपक्षीय संयन्त्रहरू सक्रिय बनाउँदै संवाद र सहकार्य सुदृढ गर्ने सहमति पनि भएको छ।

यसैबीच, प्रधानमन्त्रीस्तरको भ्रमणअघि भारतीय विदेश सचिव विक्रम मिस्त्रीको नेपाल भ्रमण हुने तयारी भइरहेको छ। उक्त भ्रमणपछि मात्रै प्रधानमन्त्रीको भ्रमण मिति तय हुने बताइएको छ।

स्रोतका अनुसार विदेश सचिवको नेपाल भ्रमण एक महिनाभित्र हुन सक्नेछ भने त्यसअघि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा हुनुहुन्छ।


ताजा खबर