नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागजिनले बुधबार सन् २०२६ का सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । सूचीमा प्रभावशाली व्यक्तित्वलाई अग्रणी कलाकार, दिग्गज, नवप्रवर्तक, आइकन, नेता र मार्गदर्शक विधामा छुट्याइएको छ । तिनमा बालेनलाई नेताको सूचीमा राखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तरिक रहमानसहित २४ जना राजनीतिक क्षेत्रका व्यक्तिसँगै बालेनको नाम समावेश गरिएको छ ।
म्यागजिनका प्रधानसम्पादक स्याम ज्याकोबका अनुसार विभिन्न क्षेत्रमा विश्वको दिशा निर्धारण गरिरहेका व्यक्ति यसमा छन् । यो सूची केवल सफलता वा लोकप्रियताका आधारमा नभई विश्वव्यापी प्रभाव, सोच परिवर्तन गर्ने क्षमता तथा समाजमा दीर्घकालीन योगदानका आधारमा तयार गरिएको म्यागजिनले जनाएको छ । २०२६ संस्करणमा विशेषगरी ती व्यक्तिलाई समावेश गरिएको छ, जसले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा नयाँ सोच, प्रविधि र नेतृत्व प्रस्तुत गरिरहेका छन् ।
यस वर्षको सूचीमा विभिन्न देशका राष्ट्रप्रमुख, सामाजिक अभियन्ता, उद्यमी, कलाकार र वैज्ञानिक छन् । कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र र वैश्विक राजनीतिमा निर्णायक प्रभाव पार्ने व्यक्तित्व यस सूचीमा विशेष रूपमा समेटिएका छन् । बालेन तीन वर्षअघि सन् २०२३ मा सोही म्यागजिनको ‘टाइम १०० नेक्ट’को सूचीमा पनि सूचीकृत भएका थिए ।
टाइम म्यागजिनका ‘एडिटर–एट–लार्ज’ चार्ली क्याम्पवेलले लेखेको बालेनको ‘प्रोफाइल’
‘पैसा रुखमा फल्छजस्तो लाग्छ ती मानिसहरूका लागि जसले आफ्नो इमानदारी बेच्छन्,’ बालेन्द्र शाह (बालेन) र्याप गर्छन् । ३५ वर्षीय नेपाली पूर्वहिप–हप स्टार, जो मार्चमा भएको निर्वाचनमा हिमाली देश नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका छन् । त्यो ऐतिहासिक जित गत शरद ऋतुमा भएको घातक सडक आन्दोलनले बल दिएको थियो, जुन जेन–जीको नेतृत्वमा भएको थियो । आन्दोलनले भ्रष्ट र जनतासँगटाढा रहेको पुरानो राजनीतिक वर्गलाई हटाउन चाहन्थ्यो ।
यही आन्दोलनबाट उदाएका शाह, जसलाई आम रूपमा बालेन भनेर चिनिन्छ, सिभिल इन्जिनियरिङ अध्ययन गरेका व्यक्ति हुन् । उनका गम्भीर स्टेज प्रस्तुति र भ्रष्ट अधिकारीविरुद्धका कडा अभिव्यक्तिले चार वर्षअघि उनलाई काठमाडौंको मेयर बनायो । र,अहिले नेपालका करिब तीन करोड जनताको नेता बनाएको छ ।
बालेनको उदय केवल पपुलिष्ट युवाविद्रोह मात्र होइन, दक्षिण एसियाको पुरानो वंशवादी राजनीतिक संरचनाको अस्वीकृति पनि हो । यसले क्षेत्रीय सत्ता संरचनामा ठूलाे तरंग पैदा गरेको छ ।
मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउन प्रशासनिक जटिलता तोड्ने काम गरेका थिए । (चर्चित अमेरिकी र्यापर) टुमाक सकुर र फिफ्टी सेन्टका प्रशंसक रहेका यीनले राष्ट्रियस्तरमा महानगरमा हासिल गरेको सफलता दोहोर्याउन सक्लान् ?
बालेनले एकपटक सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबै राजनीतिज्ञ, नयाँ होस् वा पुराना, चोर हुन् ।’ अब नेपालीले आशा गर्ने छन् कि उनले आफ्नै भनाइ गलत साबित गरून् ।






















