सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ ।
राष्ट्रपतिभवनबाट बिहीबार जारी विज्ञप्ति अनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार यो अध्यादेश आजैका मिति अर्थात् २०८३ साल वैशाख १७ गतेदेखि जारी भएको छ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्न र कानुनी सुधारका लागि सरकारले यो अध्यादेश ल्याएको बुझिएको छ ।

त्यसैगरी, राष्ट्रपति पौडेलले आज नै सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ पनि जारी गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस






















